सुनसरी घटना : आन्दोलन गर्ने कांग्रेसको चेतावनी

हिमाल प्रेस २२ साउन २०८३ १७:५२ | Friday, August 7, 2026
16
SHARES
सुनसरी घटना :  आन्दोलन गर्ने कांग्रेसको चेतावनी

इटहरी- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्ज गोलीकाण्डलाई लिएर नेपाली कांग्रेसले राजनीतिक दबाब बढाउने रणनीति अपनाएको छ। सरकारले पीडित परिवारसँग गरेको सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै कांग्रेस सुनसरीले तीन दिनभित्र माग पूरा गर्न अल्टिमेटम दिएको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको पाँचबुँदे ज्ञापनपत्रमा कांग्रेसले गोलीकाण्डको छानबिनका लागि न्यायिक समिति वा आयोग गठन, गृहमन्त्रीले पीडित परिवारसँग गरेको सहमति तत्काल कार्यान्वयन, घाइतेहरूको निःशुल्क तथा सुविधा सम्पन्न अस्पतालमा उपचार, पीडित परिवार र प्रभावित व्यवसायीलाई क्षतिपूर्ति तथा जिल्लामा शान्ति–सुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ।

जिल्ला सभापति केदार भण्डारीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसले तोकिएको तीन दिनभित्र माग पूरा नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलन सुरु गर्ने चेतावनी दिएको हो।

भण्डारीले सरकारले आफ्नै प्रतिबद्धता कार्यान्वयन नगरेकाले कांग्रेस बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको बताए। आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने उनको भनाइ थियो।

‘हामीले कुनै राजनीतिक लाभका लागि होइन, पीडितलाई न्याय दिलाउन र सरकारले गरेको सहमति कार्यान्वयन गराउन आवाज उठाएका हौँ,’ भण्डारीले भने।

गोलीकाण्डलाई राजनीतिक मुद्दाका रूपमा उठाउने तयारी

ज्ञापनपत्रमार्फत कांग्रेसले देवानगञ्ज घटनालाई निष्पक्ष अनुसन्धान र पीडितलाई न्यायसँग जोडिएको विषयका रूपमा प्रस्तुत गरेको छ। पार्टीले राज्यको उपस्थितिमा भएको गोलीकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र न्यायिक संयन्त्र आवश्यक रहेको दोहोर्‍याएको छ।

कांग्रेसले गोली लागेर घाइते भएकाहरूको वास्तविक स्वास्थ्य अवस्था सार्वजनिक गर्न, उनीहरूको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिन र घटनाबाट प्रभावित स्थानीय नागरिक तथा व्यवसायीलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेको छ।

पार्टीले धार्मिक तथा जातीय सद्भाव कायम राख्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै सरकारले न्याय र सहमतिको कार्यान्वयनमा ढिलाइ गरे सामाजिक असन्तुष्टि बढ्न सक्ने चेतावनी दिएको छ।

के हो घटना?

गत साउन १० गते राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो। त्यस घटनाको विरोधमा भएको आन्दोलनका क्रममा सिराहाको गोलबजारमा पनि एक जनाको मृत्यु भएको थियो।

गोलीकाण्डपछि गृहमन्त्रीको उपस्थितिमा पीडित पक्षसँग भएको सहमति अझै कार्यान्वयन नभएको भन्दै कांग्रेसले अब आन्दोलनको चेतावनी दिएको हो।

ज्ञापनपत्रमा जिल्ला सभापति केदार भण्डारीसहित क्षेत्रीय सभापति अयुब अन्सारी, लिलामणि सुवेदी, महासमिति सदस्य गफार अन्सारी, प्रदेशसभा सभापति श्यामलाल मेहता, प्रदेश प्रतिनिधि अजमल अख्तर आजाद तथा नगर सभापति वेदनारायण गच्छदार र राजन मेहताले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २२ साउन २०८३ १७:५२ | Friday, August 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast