बुटवल- रुपन्देहीको रोहिणी गाउँपालिकाका वडा न.५ अन्तर्गत रहेका गाउँब्लक जग्गाधनी पूर्जा वितरण गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत नापी विभाग, नापी कार्यालय रुपन्देही तथा रोहिणी गाउँपालिका गाउँपालिका धकधईको संयुक्त आयोजनामा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले २७१ घरधनीलाई जग्गाधनी पूर्जा वितरण गरेका हुन्।
रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
गाउँब्लक पूर्जा वितरण गर्दै मन्त्री लम्सालले रोहिणीको मुहार फेरिने बताए।
रुपन्देही निर्वाचन क्षेत्र १ अन्तर्गत पर्ने सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका लम्सालले पूर्जा वितरणसँगै बजेटमार्फत रोहिणी क्षेत्रको मुहार फेर्ने बताए।
उनले शिक्षा, स्वास्थ्य क्षेत्रलाई समेत प्राथमिकता दिँदै गाउँगाउँका सडकहरु पक्की गर्ने समेत प्रतिबद्धता जनाए।
२०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा घरधनीलाई पूर्जा वितरण गरिएको हो।
लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित हुनुका साथै किनबेच, बैंकिङ कारोबार तथा अन्य प्रशासनिक सेवा लिनसमेत सहज हुने अपेक्षा गरिएको छ।
स्थानीय स्ववासीले ५८ वर्ष लामो प्रतीक्षापछि आफ्नो नाममा लालपुर्जा प्राप्त गर्न लागेकोमा खुसी व्यक्त गरेका छन्। गाउँब्लक क्षेत्रका जग्गाधनीहरूलाई कानुनी स्वामित्व हस्तान्तरण गर्ने यो अभियान नागरिकको सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्ने दिशामा एक ऐतिहासिक उपलब्धि भएको गाउँपालिका अध्यक्ष विद्या यादवले बताए।
उनले नागरिकको अधिकार स्थापना, सुशासनको प्रवर्द्धन तथा विकासप्रतिको साझा प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बताए।
पूर्जा वितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, विश्वप्रकाश अर्याल, रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत वडा नं. ५ का वडा अध्यक्ष घनश्याम सिंह क्षेत्रीलगायतको उपस्थिति रहेको थियो।


