काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) ले शैक्षिक सत्र २०८३ मा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गरिएको विद्यार्थी विवरण अनिवार्य रूपमा सत्यापन गर्न सबै स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ।
विभागका तथ्यांक अधिकृत सुशील पौडेलद्वारा जारी पत्रअनुसार सामुदायिक, संस्थागत तथा परम्परागत/धार्मिक प्रकृतिका सबै विद्यालयले आईईएमआईएसमा प्रविष्ट गरेका विद्यार्थी नियमित रूपमा अध्ययनरत छन् वा छैनन् भन्ने यकिन गर्नुपर्ने उल्लेख गरिएको छ।
विभागले स्थानीय तहलाई विद्यार्थी संख्याका आधारमा उपलब्ध गराइने अनुदान तथा अन्य शीर्षकको रकम निकासा गर्नुअघि अनिवार्य रूपमा विद्यार्थी विवरण सत्यापन गर्न आग्रह गरेको छ।
कार्यक्रम कार्यान्वयन कार्यविधि २०८३/८४ ले पनि रकम निकासा गर्नुअघि विद्यार्थी संख्या यकिन गर्नुपर्ने व्यवस्था गरेको विभागले जनाएको छ।
विभागका अनुसार बालविकास र कक्षा १ बाहेक अन्य कक्षामा विद्यालयले सिधै नयाँ विद्यार्थी प्रविष्ट गर्न नपाउने तथा विद्यार्थी स्थानान्तरण आईईएमआईएस प्रणालीमार्फत मात्रै गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।
विद्यार्थी तथ्यांकको शुद्धता सुनिश्चित गर्न शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा विभाग, प्रदेश मन्त्रालय, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह तथा अन्य सरोकारवाला निकायबाट नियमित अनुगमन र सत्यापन भइरहेको विभागले जनाएको छ।
आईईएमआईएसको सार्वजनिक ड्यासबोर्डमार्फत विद्यालयको तथ्यांक सबैले हेर्न सक्ने व्यवस्था गरिएको छ भने नक्कली विद्यार्थी रिपाेर्ट मार्फत दोहोरिएका विद्यार्थीको विवरण स्थानीय तहले समेत सत्यापन गर्न सक्ने सुविधा उपलब्ध रहेको छ।
विभागले आईईएमआईएसमा प्रविष्ट विद्यार्थी विवरणको शुद्धता र नियमितता सुनिश्चित गर्ने प्रमुख जिम्मेवारी सम्बन्धित विद्यालयका प्रधानाध्यापकको हुने भन्दै विद्यार्थी विवरण सत्यापन कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न सबै पक्षलाई अनुरोध गरेको छ।



