राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारमा सहभागी हुने वा नहुने विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै उपयुक्त समयमा आवश्यक निर्णय गर्ने जिम्मेवारी अध्यक्ष लिङ्देनलाई सुम्पिएको हो।
बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रदेश सरकार गठनमा सहभागी हुने वा त्यसप्रति लालायित राप्रपा नरहेको बताए। उनका अनुसार प्रदेश सरकार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले नै गठन गर्नुपर्ने पार्टीको धारणा यथावत् रहेको छ।
उनले प्रदेश सरकारसम्बन्धी कुनै निर्णय लिनुपर्ने अवस्था आए पार्टीको हितलाई केन्द्रमा राखेर उचित समयमा उचित निर्णय गरिने बताए।
प्रवक्ता श्रेष्ठले प्रदेश सरकारका विषयमा आवश्यक निर्देशन समयमै पार्टीबाट जारी गरिने जानकारी पनि दिए।
पार्टीको आधिकारिक निर्देशन नआउँदासम्म सत्ता केन्द्रित कुनै पनि गतिविधिमा सहभागी नहुन सबै प्रदेशका संसदीय दल र प्रदेशसभा सदस्यलाई बैठकले निर्देशन दिएको उनले बताए।


