तस्बिर : रास्वपा सांसद दीपककुमार साहको फेसबुक पेजबाट
काठमाडौँ- सरकार र मृतक रवीन्द्र मेहताका परिवारका सदस्यसँग भएको संवाद सकारात्मक भएको छ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मंगलबार शिक्षण अस्पताल महारागजञ्मा भएको छलफलमा सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
गृहमन्त्रीले मृतकका आफन्तलाई घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन दिए।
वार्तामा सहभागी आफन्तले मृतकका बुबाआमासँग अहिले सल्लाह गरेपछि मात्रै भोलि थप छलफल गर्ने बताएका छन्।
उनीहरूले अहिले मेहताका शव बुझेर परीक्षणका लागि शिक्षण अस्पतालमा पठाउन सहमति जनाएका छन्।
सरकार र परिवारबीचको संवाद सकारात्मक दिशामा अघि बढेको र भोलि पुनः छलफल गरी सहमतिलाई अन्तिम रूप दिने तयारी रहेको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ।
पीडित परिवारले दोषीलाई पक्राउ गरे मात्र शव बुझ्ने अडान राखेका छन्।
सुनसरीबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साहले वार्तामा कुनै सहमति नभएको तर गृहमन्त्रीको आग्रह र पीडित परिवारको स्वीकृतिमा शवलाई भेन्टिलेटरबाट सात घन्टापछि शवगृहमा राखिएको बताएका छन्।
उनले पीडितपक्षको तर्फबाट पहिले दोषीलाई पक्राउ गर्नुपर्ने त्यसपछि मात्र शव बुझ्ने प्रमुख माग राखिएको बताए।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन मेहताको मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।


