झापा- झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। जिल्लाको करिब ९४ प्रतिशत धानखेतीयोग्य क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।
कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार साउन १८ गतेसम्म जिल्लाको करिब ९४ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको हो।
स्थानीय तहमध्ये सबैभन्दा कम गौरीगञ्ज गाउँपालिकामा ८५ प्रतिशत रोपाइँ भएको छ भने दमक र कन्काई नगरपालिकामा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको कार्यालयले जनाएको छ।
बाँकी क्षेत्रमा पनि तीव्र गतिमा रोपाइँ भइरहेको र आगामी साताभित्र जिल्लाभर रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ।
झापामा कुल ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। जिल्लाको कुल भूभागको करिब ७६ प्रतिशत हो। धान उत्पादनका हिसाबले झापा देशकै प्रमुख जिल्लामध्ये एक मानिन्छ।
यस वर्ष समयमै मनसुन सक्रिय भएकाले अधिकांश किसानले अनुकूल समयमा धान रोपाइँ गर्न पाएका छन्।


