नेपाल आउने विदेशी पर्यटक २.३ प्रतिशत वृद्धि

हिमाल प्रेस २० साउन २०८३ २१:२७ | Wednesday, August 5, 2026
16
SHARES
नेपाल आउने विदेशी पर्यटक २.३ प्रतिशत वृद्धि

काठमाडौँ- नेपालमा जुलाई महिनामा अन्तर्राष्ट्रिय पर्यटक आगमन २.३ प्रतिशतले वृद्धि भएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएकोमा यस वर्षको सोही महिनामा यो संख्या बढेर ७१ हजार ७७५ पुगेको छ। यद्यपि यो संख्या चालु वर्षको जुन महिनाको तुलनामा २१.४३ प्रतिशतले कम हो।

सन् २०१९ को जुलाईमा नेपालमा ७८ हजार ३२९ जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए। सन् २०१९ लाई नेपालको पर्यटन उद्योगका लागि आधार वर्षका रूपमा लिने गरिन्छ। उक्त वर्ष नेपालमा कुल ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक आएका थिए।

मार्चमा वार्षिक उच्च एक लाख २० हजार ५१६ पर्यटक आगमन भएपछि नेपालमा विदेशी पर्यटकको संख्या निरन्तर घट्दो क्रममा छ। अप्रिलमा एक लाख सात हजार ९३४, मेमा एक लाख दुई हजार ६२६ र जुनमा ९१ हजार ३६३ जना पर्यटक नेपाल आएका थिए।

पछिल्लो समय आगमनमा कमी आए पनि मार्च र अप्रिलबाहेक सन् २०२६ का अधिकांश महिनामा पर्यटक आगमन सन् २०२५ को तुलनामा बढी रहेको छ।

नेपालमा सामान्यतः मनसुन सुरु भएसँगै पर्यटक आगमन घट्न थाल्छ। यो अवधि अप्रिल र मेमा हुने मुख्य पर्वतारोहण सिजनको अन्त्यसँग पनि मेल खान्छ। जुनदेखि अगस्टसम्म पर्यटक आगमन तुलनात्मक रूपमा कम हुने गर्छ भने अगस्टको अन्त्यदेखि आगमन पुनः बढ्न थालेर डिसेम्बरसम्म निरन्तर वृद्धि हुने गरेको छ।

जुलाईको तथ्यांकसहित सन् २०२६ को पहिलो सात महिनामा नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकको कुल संख्या ६ लाख ९२ हजार ८८७ पुगेको छ। यो सन् २०२५ को सोही अवधिमा आएको ६ लाख ४७ हजार ८८२ पर्यटकको तुलनामा ६.८४ प्रतिशतले बढी हो।

जुलाईमा पनि भारत नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार बनेको छ। भारतबाट जुलाईमा २३ हजार ४९० पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको झन्डै एक तिहाइ हो। त्यसपछि चीनबाट ११ हजार ९९ जना र अमेरिकाबाट सात हजार ७५४ जना पर्यटक आएका छन्। त्यस्तै बंगलादेशबाट चार हजार १७९ र बेलायतबाट तीन हजार ७७३ जना पर्यटक नेपाल आएका छन्।

क्षेत्रगत रूपमा हेर्दा जुलाईमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकबाट आएका पर्यटकले कुल आगमनको ४१.५ प्रतिशत हिस्सा ओगटेका छन्। त्यसपछि अन्य एसियाली मुलुकबाट २४.३ प्रतिशत, युरोपबाट १२.९ प्रतिशत र अमेरिकी महादेशबाट १२.३ प्रतिशत पर्यटक आएका छन्। त्यस्तै, अन्य क्षेत्रबाट ३.९ प्रतिशत, ओसिनियाबाट ३.६ प्रतिशत, मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.५ प्रतिशत पर्यटक आएका छन्।

सन् २०२५ मा नेपालमा कुल ११ लाख ५८ हजार ४५९ जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए। यो संख्या सन् २०२४ को तुलनामा करिब १ प्रतिशतले बढी हो। कोभिड १९ महामारीका कारण विश्व पर्यटन क्षेत्र प्रभावित हुनुअघि सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक आएका थिए।

प्रकाशित: २० साउन २०८३ २१:२७ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast