काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीलगायतका स्थानमा भएका घटनाको न्यायिक छानबिन गर्न माग गरेको छ।
सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले सुनसरीलगायतका स्थानमा भएका घटनामा गृह मन्त्रालयले बनाएको ‘कर्मकाण्डी’ समितिले छानबिन गर्न नसक्ने भन्दै न्यायिक छानबिन गर्न माग गरेको हो।
उक्त घटनाको छानबिन गरेर सत्यतथ्य सार्वजनिक हुनुपर्ने र कानुनबमोजिम दोषीलाई कारबाही गर्ने स्थिति बन्नुपर्ने बैठकको निष्कर्ष रहेको बैठकमा सहभागी कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।
स्वतन्त्र निष्पक्ष ढंगबाट छानबिन गर्ने न्यायिक समिति बनाउनुपर्ने मागका साथ प्रतिनिधिसभा र राष्ट्रियसभामा दलको तर्फबाट अडान राख्ने उनले बताए। यसका लागि अन्य दलहरुसँग पनि सहकार्य गर्ने निर्णय भएको उनको भनाइ छ।
बैठकले आफ्ना सांसदहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी दिएर नागरिकसँग समन्वय गर्ने निर्णय गरेको छ भने निश्चित मापदण्ड बनाएर स्वकीय सचिव प्रस्ताव गर्नका लागि सांसदहरुलाई निर्देशन दिने निर्णय गरेको महामन्त्री पौडेलले बताए।
बैठकले साउन २३ र २४ गते प्रतिनिधिसभा सदस्यहरुका लागि अभिमूखिकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।


