काठमाडौँ- जनकपुरधाममा कर्फ्यु खुकुलो पारिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार अपराह्नदेखि लगाएको कर्फ्यु शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म खुकुलो पारेको हो।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले सर्वसाधारणको दैनिकीलाई सहज बनाउन बिहान १० बजेसम्म कर्फ्यु खुकुलो पारिएको जानकारी दिए।
दुध, तरकारी, फलफूल, खाद्यान्नलगायतका आवश्यक बस्तु खरिद गर्न आंशिक रूपमा कर्फ्यु खुकुलो गरिएको उनले बताए।
लुइटेलले तोकिएको अवधिपछि कर्फ्यु आदेश निरन्तर रहने जानकारी दिए।
सुनसरीको देवानगञ्ज घटनाका विरोधमा जनकपुरधाममा पनि प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले बिहीबार अपराह्न ३ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।
यसैबीच कर्फ्यु खुकुलो पारिएको अवधिमा जनकपुरधाममा सद्भाव र्यालीसमेत निकालिएको छ।
जिल्ला प्रशासन कार्यालय र जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा शनिबार बिहान सद्भाव र्याली निकालिएको हो।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो।
रेल्वे स्टेशनबाट सुरू भएको र्याली भानु चोक, जनक चोक, राम चोक, जानकी मन्दिरलगायतका क्षेत्रमा पुगेको थियो।
सद्भाव र्यालीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, नेपाली कम्युनिस्ट पार्टीका सांसद मातृका यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, प्रमुख जिल्ला अधिकारी लुइटेल विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, ३ लाख घुस रकमसमेत भेटियो


