काठमाडौँ – नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानवबहादुर कार्की तथा आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले शुक्रबार निर्वाचन आयोगमा पदबहाली गरेका छन्।
पदबहालीपछि बसेको आयोगको बैठकले हाल संघीय संसद्मा पेस हुने क्रममा रहेको एकीकृत निर्वाचन व्यवस्थापन विधेयकअनुसार एकीकृत निर्वाचन व्यवस्थापन नियमावलीको मस्यौदा तयार गर्ने निर्णय गरेको छ।
साथै निर्वाचनमा नागरिकको अपेक्षाबमोजिम आधुनिक सूचना प्रविधिको प्रयोगसम्बन्धी अवधारणापत्र तयार गर्ने, मतदाता नामावलीलाई त्रुटिरहित, अद्यावधिक र विश्वसनीय बनाउन विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
यस अवसरमा प्रमुख निर्वाचन आयुक्त कार्कीले आयोगका कर्मचारीलाई निर्देशनात्मक सम्बोधन गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र समावेशी निर्वाचन सम्पन्न गराउने दायित्वलाई प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरे।
उनले सूचना प्रविधिको अधिकतम् उपयोग गर्दै सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन, कर्मचारी आचारसंहिताको पूर्ण पालना गर्न तथा उच्च मनोबल, व्यावसायिकता र उत्तरदायित्वका साथ कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए।
संसदीय सुनुवाइ समितिबाट अनुमोनपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरूको बिहीबार नियुक्ति भएको थियो।


