धनुषाको मन्दिर परिसरमा मृत फेला परेका व्यक्ति पुजारी नभएको प्रहरीको पुष्टि

हिमाल प्रेस १५ साउन २०८३ ११:२२ | Friday, July 31, 2026
44
SHARES
धनुषाको मन्दिर परिसरमा मृत फेला परेका व्यक्ति पुजारी नभएको प्रहरीको पुष्टि प्रहरी

काठमाडौँ- धनुषाको सबैला नगरपालिका-१२ स्थित मन्दिर परिसरमा मृत फेला परेका अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी मन्दिरका पुजारी नभएको प्रहरीले पुष्टि गरेको छ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले मृतक कडेरी मन्दिरका पुजारी नभएको पुष्टि गरेका हुन्।

घटनापछि सामाजिक सञ्जाल र केही आमसञ्चार माध्यममा मृतकलाई मन्दिरका पुजारी भएको भन्दै सूचना तथा समाचार सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको छ।

प्रहरीले मृतक मन्दिरका पुजारी नभई घुमीहिँड्ने व्यक्ति रहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले भने,‘मन्दिर परिसरमा फेला परेको शव कडेरीको हो। उहाँ मन्दिरका पुजारी नभई घुमीहिँड्ने व्यक्ति भएको पुष्टि भएको छ। घटनाका सम्बन्धमा कुकुरसहितको अनुसन्धान टोली अनुसन्धानमा खटिएको छ।’

प्रहरीका अनुसार मृतक बाहिर कामकाज गर्ने र बेलाबेलामा मन्दिरमा आएर सुत्ने गरेका थिए। घटनालाई धर्मसँग नजोड्न आग्रह गर्दै प्रहरीले यो विशुद्ध आपराधिक घटना भएको जनाएको छ।

प्रहरीले घटनामा संलग्न जोसुकैलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रकाशित: १५ साउन २०८३ ११:२२ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast