बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपा सांसद रहबर अन्सारी।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सद्भाव अभिवृद्धि, सहिष्णुता प्रबद्र्धनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन्।
सिंहदरबारमा बिहीबार पार्टीका कोशी तथा मधेश प्रदेशका सांसदहरूसँग छलफल गर्दै सभापति लामिछानेले सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवद्र्धनका साथै प्रभावित जिल्लामा अवस्था सामान्यीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन्। सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवद्र्धनका लागि रास्वपाका सांसदहरु शुक्रबार आआफ्नो क्षेत्रमा जाने भएका छन्।
छलफलपछि रास्वपा सांसद रहबर अन्सारीले आआफ्ना क्षेत्रमा गएर समन्वयकारी भूमिका निर्वाह गर्न सभापतिले निर्देशन दिएको जानकारी दिए। उनले आफूहरू सम्बन्धित क्षेत्रमा गएर राज्य संयन्त्रसँगको सहकार्यमा मिलेर काम गर्ने जानकारी दिए।
त्यस्तै सांसद इन्दिरा रानाले धार्मिक द्वन्द्व बढ्दा मुलुकभित्रकै नागरिक थप पीडामा फस्ने भएकाले सवैको सहकार्यमा सद्भाव अभिवृद्धिको काम गर्नुपर्ने धारणा राखे।
त्यस्तै अन्य रास्वपा सांसदहरुले आपसी सद्भाव कायम गर्न आफ्नो जिल्लामा गएर समन्वयकारी भूमिका निर्वाह गर्ने धाराण राखेका छन्।


