बुटवलमा नागरिक समाजको सद्भाव र्‍याली

हिमाल प्रेस १४ साउन २०८३ १७:०६ | Thursday, July 30, 2026
6
SHARES
बुटवलमा नागरिक समाजको सद्भाव र्‍याली बुटवलमा बिहीबार निकालिएको सद्भाव र्‍याली।

बुटवल- सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई दृष्टिगत गरी बुटवलमा नागरिक समाजले बिहीबार बुटवलमा सद्भाव र्‍याली निकालेका छन्।

सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न अपील गर्दै ब्यानरसहित बुटवलको पुष्पलाल चोकदेखि ट्राफिकचोकसम्म र्‍याली निकालिएको हो।

र्‍यालीमा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, व्यावसायिक संघसंस्थाका प्रतिनिधि, विभिन्न धार्मिक समुदायका अगुवा, कानुन व्यवसायीलगायतको सहभागिता थियो।

राष्ट्रिय स्वतन्त्रताका लागि नागरिक मञ्चका अध्यक्ष अधिवक्ता पदम कार्की, सामाजिक अभियन्ता वीरेन्द्र विक, मानवअधिकारकर्मी गोविन्द खनाललगायतको अगुवाइमा सद्भाव र्‍याली भएको हो।

र्‍यालीमा सदीयौँदेखि नेपालमा कायम सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई खल्बलिन नदिन र थप सुदृढ बनाउन र्‍यालीमा सहभागी सबै पक्षलाई अपिल गरिएको छ।

सुनसरीको देवानगन्जमा गत साउन १० गते भएको घटनामा प्रहरीको गोली लागेर ओमप्रकाश महतोको मृत्यु र सुरक्षाकर्मीसहित २० जना बढी घाइते भएका थिए।
र्‍यालीपछि सामाजिक अभियान्ता वीरेन्द्र विकले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक तथा सामाजिक संघसंस्था, नागरिक अभियन्ता, बुद्धिजीवी र सञ्चारमाध्यम सबैले उच्च जिम्मेवारीका साथ संयमता अपनाउन र सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप बलियो बनाउनुपर्ने अहिले सबै नागरिकको पहिलो जिम्मेवारी भएको विकले बताए।

प्रकाशित: १४ साउन २०८३ १७:०६ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast