काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले लगातार चौथो कारोबार दिन पनि गिरावट कायम राखेको छ। बिहीबार नेप्से १६.२९ अंकले घटेर २,६७२.५८ विन्दुमा बन्द भएको हो।
कारोबारको सुरुवातमा बजारमा केही सुधार देखिए पनि दिनभर बिक्रीको दबाब कायम रह्यो। कारोबारको अन्तिम समयमा केही सुधार भए पनि अन्ततः नेप्से ०.६ प्रतिशतले घटेर बन्द भएको हो।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। बिहीबार २०६ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ५९ कम्पनीको मूल्य बढ्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।
आज कुल ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार जुलाई १५ यताकै सबैभन्दा कम कारोबार हो। यस अवधिमा ४४ हजार ६५१ वटा कारोबारमार्फत ७५ लाख ४० हजार कित्ता सेयर किनबेच भएका छन्।
व्यक्तिगत कम्पनीतर्फ एभरेस्ट कलर लिमिटेडले लगातार उकालो यात्रा जारी राख्दै १५ प्रतिशतको सकारात्मक सर्किट लगाएको छ। विपरीत, कालिन्चोक हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड शीर्ष स्थानमा रह्यो। कम्पनीको २४ करोड ३८ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यसपछि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको १५ करोड ३३ लाख २० हजार रुपैयाँ तथा रिडी पावर कम्पनी लिमिटेडको १० करोड ७७ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबार कारोबार भएका सबै उपसूचकहरू घटेका छन्। सबैभन्दा बढी १.२ प्रतिशतले जलविद्युत् उपसूचक घटेको छ।
त्यसपछि विकास बैंक उपसूचक १.१२ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.७२ प्रतिशतले घटेका छन्।


