काठमाडौँ- बालसाहित्य सिर्जना, सम्पादन तथा शिक्षणमार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै साहित्यकार तथा शिक्षक सरस्वती पाण्डे ‘सरस’ लाई दुर्गा साहित्य पुरस्कार-२०८३ प्रदान गरिएको छ।
ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा प्रज्ञा प्रतिष्ठान, कमलादीमा बुधबार आयोजित ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार तथा दुर्गा साहित्य पुरस्कार समर्पण समारोहमा पाण्डेलाई नगद रु.१५ हजारसहित सम्मानपत्र प्रदान गरिएको हो।
प्रतिष्ठानका अध्यक्ष डा.सदानन्द कडेल, पुरस्कार संस्थापक शिवप्रसाद अधिकारी, पुरस्कार सिफारिस समितिका संयोजक तथा साहित्यकार नरनाथ लुइँटेल लगायतले उनलाई सम्मान प्रदान गरेका थिए।
कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव तथा भाषा आयोगका पूर्वअध्यक्ष डा.लवदेव अवस्थी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
सम्मानपत्रमा शिक्षण पेसामा आबद्ध रहँदै निरन्तर साहित्यिक सिर्जनामा सक्रिय भएर विशेषगरी बालसाहित्यको क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै दुर्गा साहित्य पुरस्कार अर्पण गरिएको उल्लेख गरिएको छ।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै साहित्यकार पाण्डेले आफू लामो समयदेखि नेपाली साहित्यको सिर्जनात्मक यात्रामा निरन्तर सक्रिय रहेको बताइन्। कथा, कविता र समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएको भन्दै उनले बालसाहित्यलाई आफ्नो सिर्जनाको प्रमुख क्षेत्र बनाएको बताइन्।
उनका अनुसार हालसम्म उनका पाँच वटा सचित्र बालकथा पुस्तक प्रकाशित भइसकेका छन्। यस्तै बालबालिकाका लागि लेखिएका करिब एक दर्जन बालनाटक रेडियो नेपालबाट प्रसारण भई देशभरका श्रोतामाझ पुगिसकेको उनले जानकारी दिइन्।
बालबालिकालाई कथामार्फत सहज र रमाइलो ढंगले व्याकरण सिकाउने उद्देश्यले तयार पारिएका १२ वटा सचित्र बालकथा तथा ‘काँचो माटो’ शीर्षकको नाटकसङ्ग्रह प्रकाशनको अन्तिम तयारीमा रहेको जानकारी पनि पाण्डेले दिइन्।
उनले हालसम्म पाँच दर्जनभन्दा बढी बालसाहित्यका पुस्तक सम्पादन गरिसकेको अनुभव सुनाउँदै स्थानीय पाठ्यक्रम तथा सन्दर्भ सामग्री लेखनमा समेत सक्रिय रूपमा योगदान पुर्याएको बताइन्।
साहित्यिक यात्रासँगै आफू विगत १२ वर्षदेखि शिक्षण पेसामा निरन्तर आबद्ध रहेको पाण्डेले बताइन्। विद्यालयमा बालबालिकासँग प्रत्यक्ष काम गर्दा उनीहरूको सिकाइ प्रक्रिया, रुचि र आवश्यकतालाई नजिकबाट बुझ्ने अवसर प्राप्त भएको पाण्डेले बताइन्।
शिक्षण र साहित्यलाई एकअर्काका परिपूरक क्षेत्रका रूपमा लिँदै आफूले विद्यार्थीमा सिर्जनात्मक सोच, भाषा विकास र पढ्ने बानीको प्रवर्द्धनलाई प्राथमिकता दिएको उनको भनाइ थियो।
उनले विद्यालयमा बिताएको समय र साहित्यिक सिर्जना आफ्नो जीवनका दुई प्रेरणादायी पाटा भएको भन्दै आगामी दिनमा पनि बालसाहित्य र शिक्षण क्षेत्रमार्फत नयाँ पुस्ताको बौद्धिक तथा सिर्जनात्मक विकासमा योगदान दिइरहने प्रतिबद्धता व्यक्त गरिन्।
दुर्गा साहित्य पुरस्कारले बालसाहित्य क्षेत्रमा निरन्तर सक्रिय स्रष्टाहरूलाई प्रोत्साहन गर्नुका साथै गुणस्तरीय बालसाहित्य सिर्जनालाई थप ऊर्जा प्रदान गर्ने विश्वास कार्यक्रममा सहभागी साहित्यकारहरूले व्यक्त गरेका थिए।


