बर्डफ्लु रोकिएपछि बढ्यो कुखुरा र अण्डाको उत्पादन

हिमाल प्रेस १३ साउन २०८३ ८:५९ | Wednesday, July 29, 2026
2
SHARE
बर्डफ्लु रोकिएपछि बढ्यो कुखुरा र अण्डाको उत्पादन

चितवन- पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको छ । अण्डा, मासु र चल्लाको मूल्य पूर्ववत् अवस्थामा फर्किन सुरु गरेको हो ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट अण्डाको समर्थन मूल्य बढाएको छ। फार्महरूको दररेटलाई आधार मानेर मूल्य बढाइएको हो। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ५०० बाट ५३०, मिडियम रु ४७० बाट ५०० र सानो अण्डा प्रतिपेटी (सात क्रेट)को रु दुई हजार ९०० बाट तीन हजार पुर्याइएको छ । एक्सेल अण्डा रु ५१५ बाट ५४५ पुगेको छ ।

अध्यक्ष पोखरेलले बर्डफ्लु नियन्त्रणमा आएसँगै खपत बढेको, उत्पादनमा कमी आएको लगायतका कारण अण्डाको समर्थन मूल्य बढाइएको बताए। बर्डफ्लुका कारण ठूलो अण्डा प्रतिक्रेट रु ४५० मा झरेको थियो । प्रतिक्रेट रु ५६५ बाट रोगको सङ्क्रमण देखिएसँगै मूल्य घटेको थियो। अण्डाको लागत मूल्य प्रतिगोटा रु १९।१२ पर्न आउँछ । यसरी हिसाब गर्दा किसानले प्रतिक्रेट रु ५७३.६० पाउँदामात्रै लागत मूल्य पाउँछन्। बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोरेको उनी बताउछन्।

उनका अनुसार झण्डै १० लाख लेयर्स कुखुरा बर्डफ्लु र एचनाईनका कारण मरेका छन्। चैत महिनादेखि असारसम्म दैनिक उत्पादन ४३ लाखबाट घटेर २८ लाखमा झरेको छ । यसलाई हेर्दा दैनिक १५ लाख हाराहारी अण्डा उत्पादन घटेकाले ठूलो नोक्सान भएको उनी बताउँछन्।

यस्तै कुखुराको मासु र चल्लाको मूल्य पनि बढ्न थालेको छ । ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा रु ७० पुगेको छ। रोगका कारण तीन ह्याच नष्ट गरेका उद्योगीले गोटाको रु १५ मा समेत बिक्री गरेका थिए । ह्याचरीले सातामा दुई ह्याच चल्ला उत्पादन गर्दछन्। ह्याचरी उद्योग सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु ६५ हो । यस्तै लेयर्स चल्लाको लागत मूल्य प्रतिगोटा रु १२५ हो भने अहिले बजारमा रु १५० मा बिक्री हुन थालेको छ। एक सातामा ब्रोइलर चल्ला २८ देखि ३० लाख र लेयर्स चल्ला एक लाख उत्पादन हुने गर्दछ । बर्डफ्लुभन्दा पहिला ब्रोइलर चल्ला साताको ४० देखि ४५ लाखसम्म उत्पादन हुने गरेको थियो।

रोग सङ्क्रमणका कारण दैनिक नौ लाख किलो बिक्री भइरहेको कुखुराको मासु घटेर दैनिक पाँच लाख किलोमा झरेको थियो । यो बढेर अहिले दैनिक सात लाख किलो पुगेको छ । किसानले ब्रोइलरको जिउँदो कुखुरा प्रतिकिलो रु २६० मा बिक्री गर्दै आएकामा घटेर रु १५० मा झरेको थियो। अहिले बढेर रु २१५ पुगेको लामिछानेले जानकारी दिनुभयो । रोगका कारण भएको क्षतिको विवरण निकाल्ने काम भईरहेको भन्दै उहाँले अर्बौँ गुमाउनुपरेको बताए।

पशु सेवा विभागका अनुसार यही साउन १ गतेयता बर्डफ्लुको सङ्क्रमण देखिएको छैन। पछिल्लोपटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरी जलमा सङ्क्रमण देखिएको थियो। विभागको तथ्याङ्कअनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो । यससँगै चैत ६ गते कृषि तथा पशु पन्छी विकास मन्त्रालयबाट वर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको थियो। मोरङको उर्लाबारी–८ र सुन्दरहरैचा–४ मा पहिलोपटक वर्डफ्लु देखिएको थियो।

विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार नेपालभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ। ११ लाख ६५ हजार ६६३ वटा अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ । काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो।

प्रकाशित: १३ साउन २०८३ ८:५९ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast