पहिरो पन्छाइँदै। फाइल तस्बिर
चितवन- नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत खहरे खोलामा आज पुनः सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
आज बिहान ८ः३० बजे खसेको पहिरो दिउँसो १ः१५ बजे पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि दिउँसो २ः५० बजे पुनः पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो।
डिभिजन सडक कार्यालय चितवनका इञ्जिनियर अर्जुन घिमिरेले पहिरो पन्छाउन कम्तीमा दुई घण्टा लाग्ने बताए। उनका अनुसार पहिरो खस्ने जोखिम अझै कायम रहेकाले सवारीसाधन सञ्चालनमा सावधानी अपनाइएको छ।
उनले पहिरो पन्छाउने काम सुरु भइसकेको जानकारी दिँदै करिब ४० मिटर माथिबाट ढुंगासहितको सुक्खा पहिरो खसेको बताए।
काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्गका रूपमा रहेको नारायणगढ-मुग्लिन सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्छन्।
पहिरोका कारण सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन्।


