नेपाली कांग्रेसका सभापति गगनकुमार थापा। फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको निधनलाई पार्टी र मुलुककै लागि अपूरणीय क्षति भएको बताएका छन्।
थापाले मंगलबार श्रद्धाञ्जली सन्देश जारी गर्दै थापाले श्रेष्ठको निधनको खबरले आफू अत्यन्त स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्। उनले नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन निर्माण तथा लोकतन्त्रको रक्षाका लागि श्रेष्ठले खेलेको अविचलित भूमिका सधैं प्रेरणादायी रहने बताएका छन्।
थापाले स्याङ्जाबाट सुरु भएको श्रेष्ठको राजनीतिक यात्राले नेपाली कांग्रेसको कार्यवाहक सभापति, पूर्वउपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र देशलाई महत्त्वपूर्ण योगदान दिएको स्मरण गरेका छन्।
उनले पार्टी र लोकतान्त्रिक आन्दोलनमा समर्पित, निष्ठावान, अनुभवी तथा निर्भीक नेताका रूपमा श्रेष्ठलाई सम्झँदै उनको निधनले नेपाली कांग्रेस मात्र होइन, सिंगो देशले एक समर्पित नेतृत्व गुमाएको बताएका छन्।
थापाले श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, उनले श्रेष्ठले देखाएको निष्ठा र समर्पणको मार्गमा निरन्तर अघि बढिरहने प्रतिबद्धता पनि जनाएका छन्।
नेपाली कांग्रेसका अनुसार स्वर्गीय गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पणका लागि उहाँको पार्थिव शरीर भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, सानेपामा राखिनेछ।
८३ वर्षीय श्रेष्ठको मंगलबार उपचारका क्रममा निधन भएको थियो। पार्टीको कार्यवाहक सभापति, उपसभापतिलगायत विभिन्न भूमिकामा रहेर योगदान गरेका श्रेष्ठ क्यान्सरपीडित थिए। उनी विगत १५ दिनदेखि ललितपुरको जाउलाखेलस्थित हेलियस अस्पतालको आईसीयूमा उपचाररत थिए।


