विराटनगर : बजार र शिक्षण संस्था बन्द

हिमाल प्रेस १२ साउन २०८३ १५:१४ | Tuesday, July 28, 2026
विराटनगर : बजार र शिक्षण संस्था बन्द

इटहरी- सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा आइतबार राति भएको हिंसात्मक घटनाको प्रभाव छिमेकी जिल्ला मोरङमा पनि परेको छ। घटनाको विरोधमा मंगलबार विराटनगर बजार बन्द हुनुका साथै मोरङ प्रशासनले अर्को सूचना नभएसम्म जिल्लाभर डिजे बाजा बजाउन नियन्त्रणात्मक व्यवस्था लागू गरेको छ।

हिन्दु सम्राट् सेनाको आह्वानमा गरिएको बन्दका कारण विराटनगरका अधिकांश व्यापारिक प्रतिष्ठान, बजार र यातायात सेवा प्रभावित भए। बिहान केहीबेर खुलेका पसल पनि प्रदर्शनकारीले मोटरसाइकल र्‍यालीसहित बजार परिक्रमा गर्दै बन्द गराएका छन्। विभिन्न स्थानमा नारा–जुलुससमेत निकालिएको थियो।

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै विराटनगर महानगरभित्रका निजी तथा सामुदायिक विद्यालय पनि सञ्चालन हुन सकेनन्। सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रहरी कार्यालय मोरङले बजार तथा संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक शान्ति, सामाजिक सद्भाव र सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र हुने धार्मिक, सामाजिक तथा सार्वजनिक कार्यक्रममा डिजे बाजा बजाउन प्रशासनको पूर्वस्वीकृति अनिवार्य गरेको जनाएको छ। प्रशासनले कुनै पनि कार्यक्रमले सामाजिक सद्भावमा असर नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ।

आइतबार राति देवानगन्ज–३ कप्तानगन्जमा बोलबम यात्राका क्रममा डिजे बजाउने विषयबाट सुरु भएको विवाद दुई समुदायबीच हिंसात्मक झडपमा परिणत भएको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा देवानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने नौ जना सर्वसाधारण गोली लागेर घाइते भएका थिए।

घटनापछि सुनसरीको दक्षिणी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो भने गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको छ।

कप्तानगन्ज घटनापछि सुरक्षा संवेदनशीलता बढ्दै गएसँगै प्रशासनले छिमेकी जिल्लाहरूमा समेत सतर्कता अपनाउन थालेको छ।

प्रकाशित: १२ साउन २०८३ १५:१४ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast