घडी भवन, त्रिवि कीर्तिपुर।
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको ६ मिनेटमै ह्वाट्सएप ग्रुपबाट प्रश्नपत्र बाहिरियो।
हजारभन्दा बढी सदस्य रहेको ‘…MBS !st Sem Section CÚ’ नामको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र पोष्टमात्र भएन, ‘सर सोलुसन पनि पठाइदिनु न’ भन्दै उत्तरको मोलमोलाइ र लेनदेनसमेत सुरु भयो।
परीक्षाको मर्यादा, शैक्षिक विश्वसनीयता र हजारौँ होनहार विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने यो घटना बाहिरिनेबित्तिकै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संलग्नलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिए।
२४ घन्टा नबित्दै घटनामा संलग्न मुख्य आरोपितहरूलाई प्रहरीले नियन्त्रणमा लियो ।
साउन ८ गते परीक्षा सुरु भएको केही मिनेटभित्रै ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र छ्यापछ्याप्ती भयो। ग्रुपमा ‘सुलब सर’ नाम गरेका व्यक्तिले प्रश्नपत्र पठाउँदै ‘इको (अर्थशास्त्र) को पनि दिन्छु, राम्रोसँग हेर्नुहोला’ भन्दै विद्यार्थीलाई विश्वस्त पारिरहेका थिए।
परीक्षा चलिरहेकै समयमा मोबाइलको प्रयोग र प्रविधिको दुरुपयोग गरी संगठित रूपमा प्रश्नपत्र ‘लिक’ गराउने गिरोह सक्रिय रहेको पुष्टि भएपछि चौतर्फी आक्रोश उत्पन्न भयो।
प्रविधिको प्रयोग गरेर गराइएको यो अपराधलाई कारबाहीको दायरामा ल्याउन शिक्षामन्त्री पोखरेलले तत्कालै प्रहरी नेतृत्वसँग समन्वय गरे। उनले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई फोन गरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोलाई २४ सै घन्टा परिचालन गर्न निर्देशन दिए।
मन्त्री पोखरेलको निर्देशनपछि प्रहरीको प्राविधिक टोलीले डिजिटल फुटप्रिन्ट र ह्वाट्सएप ग्रुपको सूक्ष्म विश्लेषण गर्यो। नतिजास्वरुप २४ घन्टाभित्रै प्रश्नपत्र लिक गराउने मुख्य सूत्रधार भनिएका ‘सुलब सर’ सहित स्क्रिनसटमा नाम देखिएका अर्का एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भयो।
त्रिविद्वारा छानबिन समिति गठन
यसैक्रममा त्रिवि व्यवस्थापन संकायको डीन कार्यालयले पनि घटनाको गाम्भीर्यतालाई ध्यानमा राख्दै प्राडा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
समितिले परीक्षा केन्द्रको सुरक्षा चुस्तता, प्रश्नपत्र बाहिरिनुको आन्तरिक कारण र भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपायबारे अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।
विगतमा विश्वविद्यालयमा प्रश्नपत्र बाहिरिँदा वा परीक्षामा धाँधली हुँदा छानबिन समितिमै कुरा अल्झिने र दोषी उम्किने परिपाटी थियो।
अहिले चौबिस घण्टाभित्रै आरोपित पक्राउ परेको छ। पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


