सत्ता जोड्न ‘वामपन्थी’ जलप

किरण पौडेल १० साउन २०८३ २१:१० | Sunday, July 26, 2026
16
SHARES
सत्ता जोड्न ‘वामपन्थी’ जलप

काठमाडौँ- एक वर्षअघिसम्म केन्द्रीय सत्तामा हालिमुहाली गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जेनजी आन्दोलनपछि सरकार बाहिर छन्। जेनजी आन्दोलनपछि सम्पन्न चुनावपछि ती दल संघीय सरकारमा कमजोर साबित भए।

वैकल्पिक धारको वकालत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुईतिहाई ल्याएपछि तीनै दल प्रतिपक्षमा खुम्चिएका हुन्। केन्द्रमा बलियो सरकार गठनपछि पुराना दलको सत्ताको रस्साकस्सी प्रदेश झरेको छ। पहिले जस्तै यी दलहरू मन्त्री, मुख्यमन्त्री र समीकरण फेर्ने काम प्रदेशमा गरिरहेका छन्।

केही दिनअघि नेपाली कांग्रेसले प्रदेशमा रहेको गठबन्धन फेर्ने मनसायका साथ एमालेसँग गठबन्धन अघि नबढाउने निर्णय लियो। कुनै बेला संघीय सरकारमा कांग्रेस-एमाले रहँदा प्रदेशमा पनि उनीहरूले भागबन्डा गरेका थिए। त्यही निर्णयलाई कांग्रेसले अघि नबढाउने भएपछि प्रदेशमा सत्ताको छटपटी देखियो। सात प्रदेशमै कांग्रेस-एमालेकै सरकार थिए। तर कांग्रेसले सहयात्री फेर्दै नेकपापट्टि अघि बढ्न खोजेपछि सत्ता सहयात्री एमाले झस्कियो।

एमाले नेताहरूले कांग्रेससँगको सम्बन्ध तोड्ने भन्दै ‘वामपन्थी’ गठबन्धनको कुरा अघि बढाए र नेकपासँग नजिकिए। शनिबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रदेशको सत्तालाई लिएर तीनबुँदे सहमति भयो।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने, कर्णाली प्रदेश र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने भएको छ। मधेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग परामर्श गर्ने सहमति भयो।

सहमतिपछि हाल रहेका कांग्रेस नेतृत्वका सरका ढल्ने भएका छन्। अहिले राजनीतिक वृत्तमा एमाले-नेकपा पुरानै सत्ता ढाल्ने खेलमा रहेको भन्दै आलोचना भइरहेको छ। हाल मधेश, बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेस सरकार छ।

सहमतिअनुसार बागमतीमा कांग्रेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकार ढालेर एमाले नेतृत्वमा सरकार बनाउनुपर्ने हुन्छ। सुदूरपश्चिममा पनि कांग्रेसकै कमलबहादुर शाह नेतृत्वको सरकार ढालेर नेकपाको सरकार बनाउनुपर्नेछ। यसबाहेक अन्य दुई प्रदेश (मधेश र गण्डकी) मा भने अन्य दलसँग परामर्श गरेर मात्र सरकार ढल्ने भएको छ।

लामो समयदेखि सत्तादेखि सत्तासम्मकै लडिरहेका दलका नेताहरूको शैलीले दलहरूभित्रै असन्तुष्टि देखिन थालेको छ। नेकपाका केन्द्रीय सदस्य रन्जित तामाङ ओली-प्रचण्डबीचको सहमतिलाई ‘सत्ता र स्वार्थका क्षणिक आत्मरति’ भएको बताउँछन्।

उनी वामपन्थी सहकार्य सैद्धान्तिक दृष्टिले सही भए पनि सत्ता र शक्ति केन्द्रित तत्कालीन राजनीति स्वार्थले ‘मिल्ने-टुट्ने-फेरि मिल्ने’ चक्र चल्नु गलत भएको बताउँछन्।

त्यसो त, ओली-प्रचण्ड मिल्नुलाई नेपाली राजनीतिमा नौलो मानिँदैन। उनीहरू विगतमा मिल्दै-टुट्दै आएका नेता हुन्। एकै सत्तामा रहँदा एकले अर्काको प्रशंसा गर्ने र सत्तामा तिक्तता आएपछि तीव्र आलोचना गर्ने उनीहरूको स्वाभाव छ। ०७४ पछि उनीहरूबीच दुईतिहाई सत्ताकै सहकार्य भयो। चुनावमै दुई दलको गठबन्धन बनाएका उनीहरूले चुनावपछि शक्तिशाली सरकार बनाए। दुई अध्यक्षको अभ्यास गरेको नेकपाले ओलीलाई प्रधानमन्त्री बनायो।

ओली जसोतसो साढे तीन वर्ष सत्तामा टिके। तर पार्टीबाटै तीव्र असन्तुष्टि पैदा भए। ओलीले संसद् विघटन गरेर पनि सरकार चलाए। सर्वोच्च अदालतले नेकपालाई पूवर्वत् फर्काउने फैसला गरेपछि उनीहरू आआफ्नो बाटो लागे। लामो समय ‘दन्त बझान’ गरेका उनीहरू ०७९ को चुनावपछि फेरि सहकार्यमा देखिए।

ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर गुन तिरे भने प्रचण्डले पुरानै सहकर्मीलाई विश्वासमा लिए। तर सहकार्य लामो गएन। तीन महिनामै प्रचण्डले कांग्रेसलाई विश्वास लिए भने एमाले सत्ताबाट बाहिरियो। तर सत्ताका खेलाडी प्रचण्डले लामो समय कांग्रेसलाई पनि विश्वासमा राख्न सकेनन्।

केही समयपछि फेरि एमालेसँगै सहकार्य गर्न लागे। केही समय सत्ताका लागि मिलेका उनीहरू त्यसपछि फेरि विभाजित बने। कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेपछि एमाले-तत्कालीन माओवादी सहकार्य टुटेको थियो। देउवा-ओली सत्तामै रहेका बेला गत वर्ष भदौ २३ मा जेनजी आन्दोलन भयो। त्यसपछि सत्ताबाट प्रतिपक्षमा पुगेका वाम दल अहिले फेरि प्रदेशतिर कचिंगल गर्दै छन्। नेकपा नेता राजेन्द्र राई सत्ताका लागि केन्द्रबाट हुने हस्तक्षेप गलत भएको बताउँछन्।

उनी वामपन्थी धारका दल एक ठाउँ आए पनि प्रदेशको भावनाविपरीत हुने सहमति अस्वीकार्य हुने सुनाउँछन्। कोशीका पूर्वमुख्यमन्त्री समेत रहेका राई कोशीमा नेकपाकै सरकार बनाउन प्रयत्नशील थिए। तर प्रचण्डले एमालेकै सत्तालाई निरन्तरता दिने भएपछि उनी असन्तुष्ट छन्। अहिलेको सहमतिले पुराना कतिपय सरकार ढल्ने र नयाँ बनाउने अवस्थामा पुगेका छन्।

कर्णालीमा एमाले नेतृत्वकै यामलाल कँडेललाई निरन्तरता नदिई नेकपा सरकार बनाउने सहमति भएको छ। नेताहरूले आफूमुताबिक नेतालाई अघि बढाउन सहमति गरेको आरोप लागेको छ।

नेकपाकै नेता प्रेमलकुमार खनाल भने अहिलेको प्रदेश तालमेल बाध्यता भएको बताउँछन्। ‘कांग्रेस बाहिरिएपछि हामी सत्तामा जान बाध्य भयौँ। सत्ता नचलमलाएको भए हामी पनि मौन रहने थियौँ,’ खनाल भन्छन्, ‘प्रदेशसभा नै विघटनमा जाने सम्भावना देखिएकाले हामी सत्ता सहकार्य गर्न बाध्य भएका हौँ। विगतमा जस्तो सत्ताकै लुछाचुँडीमा हामी थिएनौँ।’ खनाल तत्काल प्रदेश विघटन हुँदा चुनाव गराउनुपर्ने परिस्थितिका कारण आर्थिक संकट आउने भयले पनि वामपन्थी शक्ति भएको सुनाउँछन्।

नेकपा एमाले नेता झपट रावल वामपन्थी दलहरू विपक्षमा बस्नु भनेको विनाअक्सिजनको सिलिन्डर बाँच्नुजस्तै भएको टिप्पणी गर्छन्। उनी सत्ताबाहिर बस्न साह्रै गाह्रो भएकाले गठजोड गरेको भन्दै व्यंग्य गरिरहेका छन्। सत्ताका लागि तालमेल गरे पनि दुवै दलमा असन्तुष्टि देखिएको छ।

वामपन्थी विश्लेषक दामोदर अर्याल प्रचण्ड-ओलीले सत्ताका लागि मात्र साठगाँठ गरेको बताउँछन्। उनीहरूको सत्ता सहमति सत्तामा पुग्नका लागि मात्र भएको र सत्ता पाएपछि के गर्ने भन्ने नभएको सुनाउँछन्। उनी दुई दलको तालमेल सिद्धान्तहीन, अनैतिक र मुद्दाविहीन तालमेल भएको बताउँछन्।

प्रकाशित: १० साउन २०८३ २१:१० | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast