राष्ट्रपति रामचन्द्र पौडेल
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्ने बताएका छन्।
शुक्रबार शितल निवासमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती तथा पुरस्कार एवम् सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै राष्ट्र प्रेमप्रतिको अगाध आस्था र प्रतिबद्धतालाई किमार्थ विचलित दिनु नहुने स्पष्ट पारे।
यही एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउँदै भावी पुस्तामा राष्ट्रप्रेमको भावधारा जागृत गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ। सबै मिलेर भ्रष्टाचार, विकृति र विसंगति अन्त्य गरी सुशासनका माध्यमबाट देश विकासको कामलाई तीव्र बनाउन उनले आह्वान पनि गरे।
उनले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उँचो बनाएर गौरवका साथ उभिन सकेको धारणा राखे। उनले राष्ट्रिय विभूति भीमसेन थापा एक इमानदार र कुशल प्रशासक भएको बताउँदै आफ्नो शासनकालमा सामाजिक, आर्थिक, कानुनी र सेनाको आधुनिकीकरणलगायत क्षेत्रमा गरेको सुधारका कार्य प्रशंसनीय रहेको बताए।
कार्यक्रममा सीमाविद् बुद्धि नारायण श्रेष्ठलाई सम्मान गरिएको थियो।


