सुर्खेतमा उपभोक्ताले ग्यास पाएका छैनन्,आयल निगम भन्छ- अभाव छैन

हिमाल प्रेस ८ साउन २०८३ १२:०९ | Friday, July 24, 2026
12
SHARES
सुर्खेतमा उपभोक्ताले ग्यास पाएका छैनन्,आयल निगम भन्छ- अभाव छैन

काठमाडौँ- कर्णाली प्रदेशको वीरेन्द्रनगरमा खाना पकाउने एलपी ग्यास नपाएको भन्दै उपभोक्ताले गुनासो गरिरहेका बेला नेपाल आयल निगम सुर्खेतले भने बजारमा ग्यासको अभाव नरहेको जनाएको छ।

निगमका प्रमुख दिपककुमार घिमिरेका अनुसार भारतबाट आवश्यक परिमाणमा एलपी ग्यास नियमित रूपमा आयात भइरहेको छ। पछिल्लो समय अभाव हुन सक्ने मनोवैज्ञानिक त्रासका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्न थालेकाले वितरण प्रणालीमा केही असर परेको उनले बताए।

उपभोक्ताको सहजताका लागि ‘एक व्यक्ति, एक सिलिन्डर’ व्यवस्था लागू गरिएको निगमले जनाएको छ। अधिकृत बिक्रेतामार्फत विभिन्न कम्पनीका दुई हजार ९२२ वटा १४.२ केजीका एलपी ग्यास सिलिन्डर प्रतिगोटा दुई हजार ६० रुपैयाँमा बिक्रीवितरण गरिने तथा नेपाल ग्यासका थप ३२० वटा सिलिन्डर वीरेन्द्रनगर औद्योगिक क्षेत्रस्थित न्यू जानकी ट्रेड एण्ड सप्लायर्समार्फत वितरण गरिने जानकारी निगमले दिएको छ।

निगमले उपभोक्तालाई अधिकृत बिक्रेताबाट मात्रै ग्यास खरिद गर्न, अनावश्यक रूपमा सञ्चय नगर्न तथा तोकिएको मूल्यभन्दा बढी रकम असुलेको, मौज्दात हुँदाहुँदै बिक्री नगरेको वा अनधिकृत रूपमा सञ्चय गरेको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।

उपभोक्ताले भने निगमको दाबीभन्दा फरक अवस्था रहेको बताएका छन्। वीरेन्द्रनगरकी स्थानीय शर्मिला बुढाले लगातार चार दिनसम्म ग्यास खोज्दा पनि नपाएको बताइन्। ‘राति २ बजेदेखि लाइनमा बसेँ तर पनि ग्यास पाइएन। पहुँच र शक्ति भएकाले मात्र ग्यास पाइरहेका छन्,’ उनले गुनासो गरिन्।

उपभोक्ताका अनुसार दुई हजार ६० रुपैयाँमा बिक्री हुनुपर्ने ग्यास केही खुद्रा व्यापारीले दुई हजार ४०० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्। महँगो मूल्य तिरेर पनि सहज रूपमा ग्यास नपाइने अवस्था रहेको उनीहरूको भनाइ छ।

ग्यास अभावबारे व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतको नेतृत्वमा नेपाल आयल निगम, उद्योग वाणिज्य कार्यालय, उपभोक्ता हित मञ्च, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मी सम्मिलित टोलीले भेरी ग्याससहित विभिन्न डिलरमा अनुगमन गरेको थियो।

अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले बजारमा ग्यासको माग अत्यधिक बढेको र आपूर्ति त्यसअनुसार हुन नसक्दा अभाव देखिएको बताए। उनका अनुसार हाल उपभोक्ताका लागि मुख्य रूपमा भेरी ग्यासको वितरण भइरहेको छ। एक हजार १०० सिलिन्डर वितरण भइसकेको र थप एक हजार ८०० सिलिन्डर आउने क्रममा रहेको उनले जानकारी दिए।

उनले प्रहरी प्रशासनको निगरानीमा एक व्यक्तिले दोहोर्‍याएर ग्यास लिन नपाउने व्यवस्था गर्दै वास्तविक उपभोक्तासम्म सहज रूपमा ग्यास पुर्‍याइने बताए। सुर्खेतमा कति उपभोक्तालाई कति सिलिन्डर आवश्यक पर्छ भन्ने यकिन तथ्यांक नहुँदा वितरण व्यवस्थापनमा चुनौती देखिएको उनको भनाइ छ।

प्रकाशित: ८ साउन २०८३ १२:०९ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast