काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आमनागरिकलाई जनकपुर नजान आग्रह गरेका छन्। जनकपुर सुरक्षित ठाउँ नभएको भन्दै सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन्।
तीन दिनअघि पार्टी कार्यक्रममा भाग लिन जनकपुर पुगेको बेला जानकी मन्दिर दर्शन गर्न जाँदा विरोधको सामना गर्नु परेपछि साम्पाङले यस्तो प्रतिक्रिया दिएका हुन्।
पार्टी संसदीय दलका नेता समेत रहेका साम्पाङको यो भनाइप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।
जानकी मन्दिर जाने सोचमा भए अवश्य विचार गर्न उनले भनेका छन्। साम्पाङले जनकपुर नगई अर्कै ठाउँ जान सुझाव दिएका छन्।
‘मानिसहरू…जनकपुर सुरक्षित ठाउँ होइन। यदि तपाईँ जानकी मन्दिर जाने सोचमा हुनुहुन्छ भने, कृपया फेरि विचार गर्नुहोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘केही लफङ गुण्डाहरूले अभद्र व्यवहार गर्नेछन्। अगाडि बढ्नुअघि १०० पट सोच्नुहोस्। बरू अर्कै ठाउँ जानुहोस्।’
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले ‘गाईको मासु खान पाउनुपर्छ’ भनेर टिप्पणी गरेको भन्दै जनकपुरधाममा हिन्दू सम्राट सेनाले विरोध जनाएको थियो।
अध्यक्ष साम्पाङ जनकपुरधाम पुगेको बेला जानकी मन्दिरमा दर्शन गर्न खोजेका थिए। तर, उनको पार्टीका सांसद राईले गाईबारे आपत्तिजनक टिप्पणी गरेको भन्दै हिन्दू सम्राट सेनाले साम्पाङको विरोध गरेको थियो।
हिन्दू सम्राट सेनाको विरोधपछि जानकी मन्दिरको गेटसम्म पुगे पनि साम्पाङ भित्र प्रवेश गर्न पाएका थिएनन्। उनी जानकी मन्दिरको गेटबाट फर्किन बाध्य भएका थिए।


