नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार राणा शासनकालभन्दा पनि कठोर देखिएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारले सर्वसाधारण र प्रदर्शनकारीमाथि बर्बरतापूर्ण दमन गरेको भन्दै सरकार पञ्चायत र राणा शासनकालभन्दा पनि कठोर देखिएको बताएका हुन्।
उनले आफैँलाई निर्वाचित गरेको संसद पनि छल्ने, त्यसलाई पनि नमान्ने क्रियाकलाप संविधानविपरित रहेको बताए।
ओलीले अहिले सरकारले संविधान मिचेकाले संविधान संशोधनभन्दा पहिले संविधानको रक्षा गर्न गर्नुपर्नेमा जोड दिए। यसका लागि लोकतान्त्रिक, प्रगतिवादी र वामपन्थी दलहरू आन्तरिक रूपमा एकताबद्ध हुन आवश्यक रहेको उनको भनाइ छ।
उनले अहिलेको अवस्थामा कांग्रेसलाई पनि आफ्नो अस्तित्व कायम राख्दै लोकतन्त्रका लागि एकताबद्ध भएर अघि बढ्न सुझाव दिए।
अध्यक्ष ओलीले प्रदेश सरकारमा देखिएको अन्यौलता छिटै हट्ने भन्दै प्रदेश र स्थानीय सरकार सहज रुपमा चल्ने बताए।
कार्यक्रममा नेकपाका नेता नारायणकाजी श्रेष्ठले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिकता, राष्ट्रिय अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितमाथि गम्भीर कुठाराघातको खतरा पैदा भएको उल्लेख गरे।
अहिलेको अवस्थामा देशभक्त शक्ति, कम्युनिष्ट र वामपन्थीहरूबीच एकता र सहकार्य हुनुपर्ने बताए।
त्यस्तै अन्य सहभागीहरुले लोकतन्त्र र संविधानको रक्षाका लागि राजनीतिक दलहरुबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए।

