प्रदीप अधिकारीविरुद्ध १ करोड ७१ लाख घुस लिएको आरोपमा मुद्दा दायर

हिमाल प्रेस ६ साउन २०८३ १४:३९ | Wednesday, July 22, 2026
प्रदीप अधिकारीविरुद्ध १ करोड ७१ लाख घुस लिएको आरोपमा मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ घुस लिएको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

अधिकारीले प्राधिकरणअन्तर्गतका ठेक्काको स्वीकृति, अनुगमन र भुक्तानी प्रक्रियामा आफ्नो पदको दुरुपयोग गर्दै ठेक्का प्राप्त गर्न सहजीकरण गरिदिएबापत गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेम प्रकाश ढकालबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

अनुसन्धानका क्रममा अधिकारीले घुसबाट प्राप्त रकम लुकाउन श्रीमतीको नाममा ललितपुर महानगरपालिका-५ स्थित १३ आना जग्गा खरिद गरेको, जग्गाको राजीनामामा ९१ लाख रुपैयाँ मात्रै देखाई वास्तविक कारोबार लुकाउने प्रयास गरेको तथा बैंक खातामार्फत रकमको स्रोत वैध देखाउने प्रयास गरेको आयोगको आरोप छ।

आयोगले अधिकारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत कारबाही, बिगो बराबर जरिवाना, कैद तथा घुसबाट खरिद गरिएको जग्गा जफतको मागदाबी गरेको छ।

त्यसैगरी, घुस दिएको आरोपमा गायत्री निर्माण सेवा तथा कम्पनीका प्रमुख प्रेम प्रकाश ढकालविरुद्ध पनि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समान बिगो कायम गरी कारबाही र सजायको माग गरिएको आयोगले जनाएको छ।

प्रकाशित: ६ साउन २०८३ १४:३९ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast