भारतमा राजनीतिक संकट, मोदीको राजीनामा मागियो

हिमाल प्रेस ६ साउन २०८३ १३:५६ | Wednesday, July 22, 2026
18
SHARES
भारतमा राजनीतिक संकट, मोदीको राजीनामा मागियो

 

नयाँदिल्ली- भारतको शिक्षा प्रणालीमा सुधारको माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलन अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामाको मागसम्म पुगेको छ। आन्दोलनकारीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधान मात्र होइन, प्रधानमन्त्री मोदीले पनि पद छाड्नुपर्ने अडान लिएका छन्।

मुख्यतः जेनजी युवाले नेतृत्व गरेको आन्दोलनमा मेडिकल कलेजको प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको, परीक्षामा अनियमितता र सरकारको जवाफदेहिताको अभावलाई मुख्य मुद्दा बनाइएको छ। आन्दोलनकारीहरूले सरकारको लापरबाहीका कारण लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको आरोप लगाएका छन्।

सोमबार संसद् भवनतर्फ अघि बढेका प्रदर्शनकारीमाथि दिल्ली प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेपछि आन्दोलन झन् उग्र बनेको छ। आन्दोलनको नेतृत्व गरिरहेको ककरोच जनता पार्टी (सीजेपी) का अनुसार प्रहरी कारबाहीमा करिब १५० प्रदर्शनकारी घाइते भएका छन्। यता दिल्ली प्रहरीले भने प्रदर्शन हिंसात्मक बन्दा १८ प्रहरी पनि घाइते भएको जनाएको छ।

प्रहरीले भत्काएको आन्दोलनस्थल जन्तरमन्तरमा प्रदर्शनकारीहरूले मंगलबार पुनः अस्थायी शिविर निर्माण गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।

हरियाणाबाट आन्दोलनमा सहभागी भएका मोहम्मद ताजले आफूहरू शान्तिपूर्ण रूपमा संसद्तर्फ गइरहेका बेला प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको आरोप लगाए।

‘बालबालिका, महिला र वृद्धसम्मलाई प्रहरीले कुट्यो’, उनले भने।

आन्दोलनकारी सुधीर कुमारले मेडिकल कलेजको प्रवेश परीक्षाका लागि एक वर्ष तयारी गरे पनि प्रश्नपत्र बाहिरिएको थाहा पाएपछि सबै मेहनत खेर गएको गुनासो गरे।

आन्दोलनको नेतृत्व गरिरहेको सीजेपी दुई महिनाअघि मात्र स्थापना भए पनि अहिले लाखौँ युवाको समर्थन जुटाउन सफल भएको छ। भारतका प्रधानन्यायाधीशले बेरोजगार युवालाई ककरोच भनेर टिप्पणी गरेको भन्दै त्यसैलाई व्यंग्यात्मक रूपमा पार्टीको नाम बनाइएको थियो।

सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई आमरण अनशनका क्रममा प्रहरीले बलपूर्वक अस्पताल पुर्‍याएपछि आन्दोलन थप बलियो बन्दै गएको हो।

पनि आन्दोलनको समर्थन गर्दै प्रधानमन्त्री निवासअगाडि धर्ना दिएका थिए। त्यस क्रममा उनलाई केही समयका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रधानमन्त्री मोदीले आन्दोलनबारे अहिलेसम्म प्रत्यक्ष प्रतिक्रिया दिएका छैनन्। संसदीय मामिला मन्त्रीमार्फत उनले प्रश्नपत्र बाहिरिएको घटना रोक्ने प्रतिबद्धता जनाएका छन्। शिक्षामन्त्री धर्मेन्द्र प्रधानले भने यसअघि सीजेपीलाई आतंकवादी समूहहरूको बी–टिम को संज्ञा दिएका थिए।

आन्दोलनकारीहरू अब शिक्षा प्रणाली सुधार वा शिक्षामन्त्री परिवर्तनमा मात्र सीमित छैनन्। उनीहरूको मुख्य माग अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा बनेको छ।

एक प्रदर्शनकारी जोन तलवारले भने, ‘मोदी सत्तामा रहुन्जेल यो देश परिवर्तन हुँदैन।’

प्रकाशित: ६ साउन २०८३ १३:५६ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast