देउवाको चेतावनी : प्रतिशोधको राजनीति लोकतन्त्रका लागि स्वीकार्य छैन

राष्ट्रिय एकता र लोकतन्त्रको रक्षाका लागि सबैलाई एकजुट हुन आह्वान

हिमाल प्रेस ५ साउन २०८३ १८:२५ | Tuesday, July 21, 2026
24
SHARES
देउवाको चेतावनी : प्रतिशोधको राजनीति लोकतन्त्रका लागि स्वीकार्य छैन शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।

स्वास्थ्य उपचारपछि स्वदेश फर्किने तयारीमा रहेका देउवाले मंगलबार सन्देश जारी गर्दै लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि सबै राजनीतिक शक्ति, नागरिक समाज र आम नेपालीलाई एकजुट हुन आह्वान गरेका हुन्।

बीपी कोइरालाको स्मृति दिवसका अवसरमा जारी सन्देशमा देउवाले भिन्न विचारप्रति असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग तथा राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने बताएका छन्। यस्तो प्रवृत्तिको विरोध गर्नु र पराजित गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व भएको उनको भनाइ छ।

देउवाले गत फागुनमा सम्पन्न निर्वाचनबाट जनताले, विशेषगरी युवा पुस्ताले नयाँ जनादेश दिएको उल्लेख गर्दै कांग्रेसले प्रतिपक्षको जिम्मेवार भूमिकाबाट लोकतन्त्र, सुशासन र राजनीतिक स्थिरताका लागि रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएको स्मरण गराएका छन्। तर सरकारले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति अघि बढाउँदै न्यायपालिका, संवैधानिक निकाय तथा लोकतान्त्रिक प्रणालीमाथि दबाब सिर्जना गर्ने संकेत देखिएको उनको आरोप छ।

उनले न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखेर प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिएको दाबी गर्दै यस्तो अवस्थामा नेपाली कांग्रेसको जिम्मेवारी अझ बढेको बताएका छन्।

देउवाले जननायक बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिलाई स्मरण गर्दै अहिले पनि देशलाई विभाजनभन्दा एकता, अविश्वासभन्दा विश्वास र प्रतिशोधभन्दा सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। इतिहासबाट प्राप्त अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा सिर्जनशीलतालाई जोडेर राष्ट्रिय संवाद र साझा सहकार्यको वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

स्वास्थ्य उपचारका क्रममा केही महिना विदेशमा रहे पनि आफ्नो सोच र चिन्ता निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको उल्लेख गर्दै देउवाले अब नेपाली भूमिमा पुनः पाइला टेक्न लागेको बताएका छन्।

उनले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने भए पनि नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि आफू पूर्ण रूपमा आशावादी रहेको उल्लेख गर्दै राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतालाई आह्वान गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast