विशालनगरस्थित डा. पाण्डेको निवासमा परिवारलाई राष्ट्रपतिको समवेदना सन्देश हस्तान्तरण गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेललगायत। तस्बिर स्रोत : शीतल निवास
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै उनको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा केन्द्रित रहेको बताएका छन्। शोकसन्तप्त परिवारका नाममा पठाएको समवेदना सन्देशमा राष्ट्रपति पौडेलले नेपालमा लोकतन्त्र स्थापना तथा पुनःस्थापनाका लागि भएका विभिन्न आन्दोलनमा नागरिक अगुवाका रूपमा डा. पाण्डेले निर्वाह गरेको नेतृत्वदायी भूमिका सधैँ स्मरणीय रहने उल्लेख गरेका छन्।
राष्ट्रपतिले २०३६ सालको जनमतसंग्रहअघि सरकारी सचिव पदबाट राजीनामा दिएर लोकतान्त्रिक आन्दोलनमा होमिएका डा. पाण्डेले २०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को जनआन्दोलनसम्म नागरिक नेतृत्वमा खेलेको भूमिका आफ्नो मानसपटलमा अझै ताजा रहेको बताएका छन्।
समवेदना सन्देशमा राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्, ‘२०३६ सालयताको करिब साढे चार दशकमा उहाँले निर्वाह गर्नुभएको भूमिका र योगदानले उहाँलाई आफ्नो क्षेत्र र धारबाट राष्ट्र निर्माणमा योगदान पुर्याउने मानक व्यक्तित्वका रूपमा भावी पुस्ताले स्मरण गरिरहनेछन्। उहाँको निष्ठा, आचरण र नैतिक जीवनले नेपाली समाजलाई सधैं आलोकित गरिरहनेछ भन्ने मेरो विश्वास छ।’
राष्ट्रपति पौडेलले डा. पाण्डेको निधनसँगै नेपालको लोकतान्त्रिक आन्दोलनले एक निर्भीक, सत्यको पक्षधर र निष्ठावान् नागरिक अगुवा गुमाएको उल्लेख गर्दै यसलाई मुलुकका लागि अपूरणीय क्षति भएको बताएका छन्।
राष्ट्रपतिको समवेदना सन्देश उनका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले विशालनगरस्थित डा. पाण्डेको निवास पुगेर परिवारलाई हस्तान्तरण गरेका थिए।
क्यान्सरबाट पीडित डा. पाण्डेको साउन १ गते शुक्रबार काठमाडौँको विशालनगरस्थित आफ्नै निवासमा निधन भएको थियो।

