दिल्लीमा किन हजारौं मानिस प्रदर्शन गरिरहेका छन्?

हिमाल प्रेस ५ साउन २०८३ १४:१० | Tuesday, July 21, 2026
12
SHARES
दिल्लीमा किन हजारौं मानिस प्रदर्शन गरिरहेका छन्? नयाँ दिल्लीमा सोमबार शिक्षामन्त्रीको राजीनामाको माग गर्दै भारतको संसद्तर्फ अघि बढ्ने क्रममा ककरोच जनता पार्टीका समर्थक र प्रहरीबीच घम्साघम्सी। तस्बिर:एपी/ रासस

हास्यात्मक रूपमा सुरु भएको ककरोच जनता पार्टी छोटो समयमै भारतका असन्तुष्ट युवाको आवाज बन्न पुगेको छ।

यस आन्दोलनको नेतृत्व बोस्टन विश्वविद्यालयका पूर्वविद्यार्थी अभिजीत दिपकेले गरिरहेका छन्। उनी ३० वर्षका हुन्।

दिपकेका अनुसार आन्दोलन सुरुमा मजाकका रूपमा सुरु गरिएको थियो। तर, गुगल फारममार्फत सदस्य बन्न आह्वान गरेपछि केही समयमै दशौं हजार युवाले नाम दर्ता गराए। त्यसपछि यो अभियान आन्दोलनमा परिणत भयो र सोमबार (जुलाई ९) मा संसद् भवनसम्म मार्च गर्ने घोषणा गरियो।

यस आन्दोलनले थप चर्चा पाउनुको अर्को कारण प्रसिद्ध इन्जिनियर तथा सामाजिक अभियन्ता सोनम वाङचुकको घटना बन्यो।

वाङचुकले दिल्लीको ऐतिहासिक प्रदर्शनस्थल जन्तर मन्तरमा ककरोच जनता पार्टीको समर्थनमा २० दिनदेखि आमरण अनशन गरिरहेका थिए। तर शनिबार ५९ वर्षीय वाङचुकलाई प्रहरीले बलपूर्वक अस्पताल लगेको घटनाले ककरोच समर्थकहरूमा आक्रोश फैलियो र आन्दोलनले थप गति लियो।

‘ककरोच’ नाम किन राखियो?

‘ककरोच जनता पार्टी’ नाम भारतका प्रधानन्यायाधीश सूर्यकान्तले दिएको एक अभिव्यक्तिको प्रतिक्रियास्वरूप राखिएको हो।एक सुनुवाइका क्रममा उनले बेरोजगार युवा आन्दोलनतर्फ आकर्षित हुनेहरूलाई ‘ककरोच’ र ‘परजीवी’सँग तुलना गरेका थिए।

पछि उनले आफूले सम्पूर्ण युवालाई नभई ‘नक्कली र फर्जी डिग्री भएका व्यक्तिहरू’ लाई मात्र संकेत गरेको बताए।

यो नाम प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीको व्यंग्यात्मक रूप पनि हो। सामाजिक सञ्जालबाट सुरु भएको आन्दोलन अहिले देशभर फैलिएको छ। उनीहरू ककरोचको भेषमा सरसफाइ अभियान र प्रदर्शनमा सहभागी भइरहेका छन्।

ककरोच जनता पार्टीका मुख्य माग के हुन्?

पार्टीको मुख्य असन्तुष्टि भारतको शिक्षा प्रणालीसँग सम्बन्धित छ। नेसनल एलिजिबिलिटी कम इन्ट्रान्स टेस्ट भारतभरका मेडिकल कलेजमा भर्नाका लागि सञ्चालन हुने प्रमुख प्रवेश परीक्षा हो।

मे ३ मा करिब २२ लाख ८० हजार विद्यार्थी यस परीक्षामा सहभागी भएका थिए। तर प्रश्नपत्र बाहिरिएको आरोपपछि केही दिनमै परीक्षा रद्द गरियो र कडा सुरक्षाबीच पुनः परीक्षा लिनुपर्‍यो। यस घटनाले वर्षौंसम्म तयारी गरेका विद्यार्थीहरूलाई ठूलो मानसिक धक्का दियो।

आन्दोलनकारी र पीडित परिवारहरूले परीक्षा रद्द भएपछि उत्पन्न मानसिक तनावका कारण करिब २० जना विद्यार्थीले आत्महत्या गरेको दाबी गरेका छन्।

यसअघि सन् २०२४ मा प्रश्नपत्र बाहिरिएको विवाद परेको थियो। ककरोच पार्टीले शिक्षा प्रणालीमा व्यापक सुधार, प्रश्नपत्र बाहिरिएका घटनामा जवाफदेहिता सुनिश्चित गर्न तथा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको छ।

सोनम वाङचुकलाई अस्पताल लगिएको घटनापछि ककरोच पार्टी नेता अभिजीत दिपकेले प्रधानमन्त्री नरेन्द्र मोदीको पनि राजीनामा माग गरेका छन्।

सरकारले चुनौती सामना कसरी गरिरहेको छ?

ककरोच पार्टीले आफ्ना सबै माग पूरा गराउन सफल हुन्छ वा हुँदैन भन्ने निश्चित छैन। तर,यस आन्दोलनले भारतको राजनीतिमा उल्लेखनीय प्रभाव पारेको छ।

बीबीसीका अनुसार सोमबारको प्रदर्शन हालका वर्षहरूमा मोदी सरकारविरुद्ध दिल्लीमा भएको सबैभन्दा ठूलो विरोध प्रदर्शनमध्ये एक मानिएको छ।

यस आन्दोलनलाई विभिन्न विपक्षी दलका नेताहरूले पनि समर्थन जनाएका छन्। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले प्रदर्शनकारी विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेको घटनालाई ‘लोकतन्त्रमाथिको आक्रमण’ भएको बताएका छन्।

अल इन्डिया तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्रा संसद् बैठकमा सहभागी हुनुअघि प्रदर्शनस्थलमा पुगेकी थिइन्।

त्यसैगरी समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले पनि आन्दोलनप्रति समर्थन जनाउँदै दिल्लीमा भेला भएका विद्यार्थी र प्रदर्शनकारीसँग सम्मानजनक व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित: ५ साउन २०८३ १४:१० | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast