इटहरी- मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयमा शिक्षकबाट दुर्व्यवहार भएको आरोपपछि उत्पन्न विवादमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न भएको आशंकामा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार सुन्दरहरैँचा-१० निवासी ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा-२ निवासी ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा-१२ निवासी ३५ वर्षीय अविरल मास्केलाई आइतबार बिहान १० बजे नियन्त्रणमा लिइएको हो।
विद्यालयका विद्यार्थीले शिक्षकविरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेको सूचना पाएपछि घटना अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा अन्य व्यक्तिको समेत संलग्नता खुले कानुनबमोजिम कारबाही गरिने भन्दै प्रहरीले सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
सुकुना माध्यमिक विद्यालयले पनि घटनालाई गम्भीर रूपमा लिँदै आरोप लागेका शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरेको जनाएको छ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक-अभिभावक संघको संयुक्त बैठकको निर्णयअनुसार कानुनी प्रक्रियालाई सहज बनाउन आरोपितलाई दोषी ठहर नभएसम्मका लागि लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, संगीत प्रशिक्षक भीमप्रसाद नेपाल र बस चालक प्रदीप भट्टराईलाई निलम्बन गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले शिक्षक तथा कर्मचारीको आचरणसम्बन्धी विषय गम्भीर तथा कानुनले निषेध गरेको प्रकृतिको भएकाले निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकिएको उल्लेख गरेको छ। साथै घटनाको सत्यतथ्य नटुंगिएसम्म विद्यार्थी, अभिभावक र शुभेच्छुकलाई संयमित रहन आग्रह गरिएको छ।
विद्यालयले अन्य आरोपित शिक्षक तथा कर्मचारीबारे पनि विद्यालय व्यवस्थापन समितिले छानबिन गरी आवश्यक कारबाही अघि बढाउने जनाएको छ।

