काठमाडौँ- जातीय विभेद सधैँका लागि अन्त्य हुनुपर्ने भन्दै जातीय छुवाछुतविरुद्धको अभियानले काठमाडौँमा प्रदर्शन गरेको छ।
मान्छेले मान्छेमाथि गर्ने जातीय विभेद सधैँका लागि अन्य गर्न सबै गम्भीर हुनुपर्ने भन्दै अभियानले शनिबार काठमाडौँमा प्रदर्शन गरेको हो। अभियानले घर बहाल लगाउने घरबेटीले समेत जातीयताको आधारमा भेदभाव गरेको गुनासो गरेका छन्।
प्रदर्शनमा सहभागीहरुले दलित समुदायले हिजोका दिनमा ऐतिहासिक रूपमा राजनीतिक आन्दोलन गरेकै मुलुकमा नयाँ व्यवस्था बने पनि अहिले दलित समुदायका मुद्दालाई बेवास्ता गर्ने काम भएको गुनासो गरेका थिए।
जेनजी आन्दोलनको आडमा अहिले सरकारको नेतृत्व गरिरहेका वा दलित समुदायबाटै प्रतिनिधित्व गर्ने सांसदहरू दलितका मुद्दामा किन बढी बोल्दैनन् भन्दै उनीहरुले प्रश्न समेत गरेका छन्।
दलितमाथि अमानवीय र क्रुर व्यवहार गर्ने मानसिकता बोकेको समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरू मौन बस्न नहुने र जातीय छुवाछुत अन्त्यका लागि गैरदलितहरु पनि उत्तिकै जिम्मेवार र उत्तरदायी हुनुपर्ने उनीहरुको भनाइ छ।

