वर्षाका कारण यी राजमार्ग प्रभावित

हिमाल प्रेस १ साउन २०८३ ७:२० | Friday, July 17, 2026
4
SHARES
वर्षाका कारण यी राजमार्ग प्रभावित सांकेतिक तस्बिर

काठमाडौँ- अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ।

नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

मकवानपुरको बकैया गाउँपालिका-११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा बुधबार साँझ सडकमाथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।

काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने खुर्कोट-नेपालथोक-कटुन्जेबेँसीस्थित बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

यसैबीच, इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग हिलो हुँदा पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त बाटोको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

अर्घाखाँचीको पाणिनि गाउँपालिका-२ सालझन्डी-ढोरपाटन सडकखण्डमा ढुंगा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलोस्थित अरनिको राजमार्ग पहिरोले अवरुद्ध भएको नेपाल प्रहरीले जनाउँदै सडक विभागलगायत निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका बताएको छ।

प्रकाशित: १ साउन २०८३ ७:२० | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast