अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प। फाइल तस्बिर
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले एक अमेरिकी महिलालाई रिहा गरेपछि यसलाई ‘शुभेच्छाको इशारा’ भनेर प्रशंसा गरेका छन्।
रिहा भएकी महिला सन् २०२४ को डिसेम्बरदेखि इरानमा थुनामा रहेकी थिइन्।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै लेखेका छन्, ‘इरानी नियन्त्रणबाट रिहा भएकी अमेरिकी महिलाले इरानबाट सुरक्षित रूपमा बाहिर निस्किएको बताएकी छन्।’
उनले भने, ‘इरानले सन् २०२४ डिसेम्बरमा ‘जो बाइडेन’ को राष्ट्रपति कालमा गलत रूपमा थुनिएको एक अमेरिकी नागरिकलाई इरान छोड्न अनुमति दिएको छ। उनी अहिले इरानबाहिर सुरक्षित छन् र उनको स्वास्थ्य राम्रो छ। संयुक्त राज्य अमेरिकाले इरानको यो शुभेच्छाको इशाराको प्रशंसा गर्दछ!’
सीएनएनका अनुसार यस विषयमा सीएनएनले ह्वाइट हाउस र राष्ट्रपतिका विशेष प्रतिनिधिको कार्यालयसँग प्रतिक्रिया मागेको थियो। तर यसबारे थप जानकारी प्राप्त हुन सकेन। राष्टपति ट्रम्पले दिएको जानकारीमा महिलाको नाम उल्लेख छैन र उनको रिहाइको थप विवरण दिएका छैनन्।-रासस/एएनआई


