काठमाडौँ- नेकपा एमालेका नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरी रिहा भएका छन्।
बन्दी प्रत्यक्षीकरण रिट उपर सुनुवाइ गर्दै सर्वोच्च अदालतको आदेशपछि कोइरी बिहीबार रिहा भएका हुन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।
सशस्त्र प्रहरी थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो। यसअघि जिल्ला अदालत महोत्तरीले विक हत्या प्रकरणमा उनलाई सफाइ दिएको थियो।
उच्च अदालतको फैसला आएको भोलिपल्टै उनलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो। आफ्नो पक्राउविरुद्ध कोइरी सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।
कैदी पुर्जी कानुनसम्मत नरहेकोले उनलाई थुनामुक्त गर्न आदेशमा भनिएको छ।
प्रकाशित: ३२ असार २०८३ १८:०१ | Thursday, July 16, 2026
प्रतिक्रिया


