बालेन-रवि भेटमा खुल्यो सरकार र पार्टीभित्रको असन्तुष्टि

हिमाल प्रेस २९ असार २०८३ १३:४४ | Monday, July 13, 2026
38
SHARES
बालेन-रवि भेटमा खुल्यो सरकार र पार्टीभित्रको असन्तुष्टि

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार करिब चार घण्टा लामो छलफल भएको छ। छलफलमा सरकारको कार्यसम्पादन, पार्टीभित्र देखिएका असन्तुष्टि, सुशासन तथा कूटनीतिक विषयहरू केन्द्रमा रहेका थिए।

सभापति लामिछानेले प्रधानमन्त्रीसमक्ष पाँच प्रमुख विषय उठाएका थिए। पहिलो, सुकुम्बासी समस्या अपेक्षाअनुसार समाधानतर्फ अघि बढ्न नसकेको भन्दै सरकारको आगामी योजना के हो भन्ने जिज्ञासा राखिएको थियो।

प्रधानमन्त्रीले समस्या समाधानको प्रक्रिया जारी रहे पनि कर्मचारीतन्त्र र स्थानीय तहबाट पर्याप्त सहयोग नपाएकाले काममा ढिलाइ भएको बताएका थिए। उनले आवश्यक समन्वय भए प्रक्रिया छिटो अघि बढ्ने विश्वास व्यक्त गरेका थिए।

दोस्रो विषय अर्थमन्त्री स्वर्णिम वाग्लेसँग सम्बन्धित थियो। स्रोतका अनुसार पछिल्ला सरकारी कार्यक्रमहरूमा अर्थमन्त्रीलाई सहभागी नगरिएको विषयलाई लिएर पार्टीभित्र चासो बढेको छ।

बजेट कार्यान्वयनका क्रममा देखिएका केही त्रुटि तथा निजी क्षेत्रसँगको समन्वयका विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीबीच मतभेद देखिएको चर्चा पनि बैठकमा भएको बताइएको छ। लामिछानेले यसबारे स्पष्टता खोजेका थिए भने प्रधानमन्त्रीले आफ्ना धारणा राखेका थिए।

तेस्रो विषय पार्टीको महामन्त्री पदमा भूपदेव शाहको सम्भावित मनोनयनसँग सम्बन्धित थियो। स्रोतका अनुसार महाधिवेशनको भूमिकालाई लिएर पार्टीभित्र मतभेद कायम रहेकाले निर्णयमा ढिलाइ भएको हो। छलफलपछि नेतृत्वले यस विषयमा छिट्टै निष्कर्ष निकाल्ने समझदारी गरेको बताइएको छ।

बैठकमा सामाजिक सञ्जालमा बढ्दै गएको असन्तुष्टि सडकसम्म फैलिन थालेको अवस्थाबारे पनि लामिछानेले सरकारको ध्यानाकर्षण गराएका थिए।

सुकुम्बासी, मिटरब्याज पीडितलगायतका विषयलाई प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने उनको धारणा रहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीले भने सरकारविरुद्ध नियोजित प्रचार भइरहेको दाबी गर्दै वास्तविक समस्याको समाधानतर्फ सरकार केन्द्रित रहेको बताएका थिए।

छलफलको पाँचौं विषय दलाई लामासँग सम्बन्धित पछिल्ला गतिविधि र त्यसबाट उत्पन्न कूटनीतिक चासो थियो। स्रोतका अनुसार लामिछानेले सरकारलाई संवेदनशील ढंगले विषय व्यवस्थापन गर्न सुझाव दिएका थिए।

प्रधानमन्त्रीले भने नेपालको आधिकारिक नीति रहेको र भ्रम फैलाउने प्रयास भइरहेकाले त्यसप्रति सचेत रहनुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रधानमन्त्री शाहले पनि सभापति लामिछानेसमक्ष तीन प्रमुख सरोकार राखेका थिए। पहिलो, रास्वपाकै केही सांसद तथा नेताले सरकारविरुद्ध सार्वजनिक रूपमा आलोचना गर्न थालेको भन्दै पार्टीभित्र अनुशासन कायम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

दोस्रो, प्रधानमन्त्री संसद्‌मा नियमित उपस्थित नभएको विषयलाई लिएर आफ्नै पार्टीका सांसदले सार्वजनिक रूपमा प्रश्न उठाउन नहुने उनको भनाइ थियो। उनले सरकारका गतिविधि मन्त्रीमार्फत अघि बढिरहेकाले त्यसबारे पार्टीभित्र समान बुझाइ आवश्यक रहेको बताएका थिए।

तेस्रो, सुशासनका कार्यक्रम अघि बढाउँदा विभिन्न अवरोध सामना गर्नुपरेको उल्लेख गर्दै त्यसलाई पार गर्न पार्टी नेतृत्वको सहयोग आवश्यक रहेको प्रधानमन्त्रीले बताएका थिए।

कानुनीको शासन र सुशासनप्रतिको प्रतिबद्धतामा सरकार पछि नहट्ने उनको भनाइ रहेको स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast