काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले आत्मदाहका घटनाप्रति दुःख व्यक्त गर्दै राज्यको जिम्मेवारी र समाजको संवेदनशीलतामाथि प्रश्न उठाएकी छन्।
सामाजिक सञ्जालमार्फत सांसद बास्कोटाले प्रेम आचार्य र गणेश नेपालीका घटनाले एउटै प्रश्नलाई पुनः उजागर गरेको उल्लेख गरेकी छन्। उनले समय फरक भए पनि समस्या र पीडा भने उस्तै रहेको बताएकी छन्।
शुक्रबार उनले लेखेकी छन्,‘हिजो प्रेम आचार्यको जलनले जुन प्रश्न जन्मायो, आज गणेश नेपालीको जलनले फेरि त्यही प्रश्न दोहोर्याएको छ। फरक केवल समयको हो, समस्याको होइन। पीडा त्यही छ।’
सांसद बास्कोटाले आगोले शरीर मात्र नभई समाजको संवेदनशीलता र राज्यको जिम्मेवारीलाई समेत कठघरामा उभ्याउने उल्लेख गर्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी उपाय खोजिनुपर्नेमा जोड दिएकी छन्।
‘त्यो जलनमा लगाउने मलम खोज्न, अझ भन्नू पर्दा कोही यसरी जलिरहनु पर्ने अवस्थाको अन्त्य खोज्न कहिले सकिएला?’ उनले चिन्ता व्यक्त गरिन्।



