काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले जंगली हात्तीले सप्तरीका कतिपय स्थानमा अन्नबाली नष्ट गरेको भन्दै नियन्त्रण गर्नतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सप्तरीको अग्नीसाइर कृष्णसंवरन गाउँपालिका–६ महुली मोहनपुरमा जंगली हात्तीको बथानले ठूलो क्षति पुर्याएको बताए।
कर्णले सोमबार राति १० बजे गाउँको बीचमा छिरेका दर्जनौँ हात्तीको समूहले अन्नबाली नष्ट पारेको बताए।
हात्तीको हुलले बिहान ३ बजेसम्म गाउँभित्रै रही मखै खेती, धानको बिऊ पूर्ण रुपमा नष्ट पारेको उनको भनाइ थियो।
‘हात्तीको हुलले बिहान ३ बजेसम्म लगातार पाँच घन्टा ताण्डव मच्चाउँदै कृषकहरुले भित्र्याउन तयारी अवस्थामा राखेको मकै खेती र रोप्नका लागि तयार पारिएको धानको बीऊ पूर्ण रुपमा नष्ट गरेको छ,’ कर्णले भने।
हात्ती आतंकका कारण किसानहरु पीडित बन्नुका साथै स्थानीयवासी त्रसित बनेको उनले उल्लेख गरे। वर्षभरी खाने अन्नबाली भण्डारण गर्ने बेलामा जंगली जनावरले नष्ट पारिदिएपछि स्थानीय कृषकहरु चिन्तामा परेको उनको भनाइ छ।
किसानहरु ३५ वर्षदेखि जंगली जनावरको आतंक खेप्दै आएको भन्दै उनले नियन्त्रणका लागि आवश्यक योजना अगाडि बढाउन सरकारलाई ध्यानाकर्षण गराए।
‘यस क्षेत्रका किसानहरु विगत ३५ वर्षदेखि निरन्तर जंगली जनावरको आतंक खेप्दै आएका छन्। सम्मानीय सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु कि समयमै जंगली हात्ती नियन्त्रणका लागि आवश्यक योजना अगाडि बढाइयोस्,’ उनले भने।




