दलाइ लामाको जन्मदिन काठमाडौँमा मनाइनु चिन्ताजनक : चीनका लागि पूर्वराजदूत

हिमाल प्रेस २५ असार २०८३ १२:२१ | Thursday, July 9, 2026
6
SHARES
दलाइ लामाको जन्मदिन काठमाडौँमा मनाइनु चिन्ताजनक : चीनका लागि पूर्वराजदूत दलाई लामा/फाइल तस्बिर

काठमाडौँ- चीनका लागि नेपालका सात पूर्वराजदूतले नागार्जुनस्थित नामग्याल विद्यालयमा १४औँ दलाइ लामाको ९९औँ जन्मदिन मनाइएको घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपाल सरकारले आफ्नो परराष्ट्र नीतिको मूल आधार रहेको एक चीन नीति दृढतापूर्वक पालना गर्न आग्रह गरेका छन्।

पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेश मास्के, कृष्णप्रसाद ओली, महेन्द्र पाण्डे, लीलामणि पौडेल, टंक कार्की र विष्णुपुकार श्रेष्ठले बिहीबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै असार २२ गते नागार्जुन नगरपालिका-२ स्थित नामग्याल विद्यालयमा दलाइ लामाको जन्मदिन मनाइएको र कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरू समेत सहभागी भएको भन्ने समाचारप्रति आफूहरू चिन्तित भएको बताएका हुन्।

वक्तव्यमा नेपालले लामो समयदेखि दृढतापूर्वक एक चीन नीति अवलम्बन गर्दै आएको, नेपालको भूमिबाट कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रतिकूल असर पर्ने गतिविधि हुन नदिने प्रतिबद्धता जनाउँदै आएको र हालै परराष्ट्रमन्त्रीको चीन भ्रमणका क्रममा समेत उक्त प्रतिबद्धता दोहोर्‍याइएको स्मरण गराइएको छ।

पूर्वराजदूतहरूले विज्ञप्तिमा भनेका छन्,‘नेपालले सधैँ दृढतापूर्वक एक चीन नीति अपनाउँदै आएको, नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पार्ने कार्य नगर्ने तथा गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको हो। यदि उक्त कार्यक्रम सरकारको सहमतिमा भएको हो भने यसले नेपालले मित्र राष्ट्र चीनसँग कायम राख्दै आएको एक चीन नीतिको प्रतिकूल प्रभाव पार्ने देखिन्छ।’

उनीहरूले यस्तो गतिविधिले नेपालले अवलम्बन गर्दै आएको भूराजनीतिक सन्तुलनमा समेत नकारात्मक असर पार्न सक्ने उल्लेख गरेका छन्। ‘यस्तो गतिविधि हाम्रो देशको स्थायित्व, विकास र स्वतन्त्रताका लागि प्रत्युत्पादक हुन सक्ने भएकाले नेपाल सरकारलगायत सबै सरोकारवालालाई सतर्क र सचेत रहन अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

दलाइ लामाका समर्थकहरूले काठमाडौँ र चीनसँग सीमा जोडिएका जिल्लाहरूलाई हब बनाएर आफ्नो गतिविधि बढाउँदै आएका छन्। यसमा कतिपयले वर्तमान सरकारका गृहमन्त्री सुधन गुरुङलाई समेत यस्ता गतिविधिका लागि सहज वातावरण बनाउन उद्यत रहेको आरोप लगाएका छन्।

प्रकाशित: २५ असार २०८३ १२:२१ | Thursday, July 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast