काठमाडौँ- आर्थिक वर्ष २०८२/८३ तेस्रो त्रैमास (माघ, फागुन, चैत) मा प्रमुख निर्माण सामग्रीको मूल्य उल्लेख्य रूपमा बढेको छ। इँटा, सिमेन्ट र स्टिलजन्य सामग्रीको मूल्यवृद्धिले समग्र निर्माणलागतमा वृद्धि गराएको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको निर्माण क्षेत्रको इनपुट मूल्य सूचकांक प्रतिवेदनले देखाएको छ।
प्रतिवेदनअनुसार आन्तरिक आपूर्ति अभाव र अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्यको दबाबका कारण प्रमुख निर्माण सामग्रीको मूल्यमा उल्लेखनीय उतारचढाव देखिएको छ।
समीक्षा अवधिमा इँटाको मूल्य सबैभन्दा धेरै बढेको छ। इँटाको मूल्य वार्षिक आधारमा १३.४१ प्रतिशत र त्रैमासिक आधारमा ९.३३ प्रतिशतले वृद्धि भएको छ। इँटाको सूचकांक १४७.२ बिन्दुमा पुगेको छ, जुन पछिल्ला पाँच वर्षयताकै उच्च हो। इँटा उद्योगमा आपूर्ति अभाव तथा माघदेखि चैतसम्मको निर्माण कार्यको व्यस्त मौसममा बढेका मागका कारण मूल्य बढेको प्रतिवेदनमा उल्लेख छ।
सिमेन्टको मूल्य पनि अघिल्लो त्रैमासको तुलनामा ५.०४ प्रतिशतले बढेर सूचकांक १०५.५ पुगेको छ, जुन पछिल्ला तीन वर्षयताकै उच्च स्तर हो। अघिल्ला दुई आर्थिक वर्षमा मूल्यमा आएको लामो गिरावटपछि निर्माण गतिविधि बढ्नु र क्लिंकरको आपूर्ति कडा हुनुले सिमेन्टको मूल्य पुनः उकालो लागेको प्रतिवेदनले जनाएको छ।
डन्डी (फलामे छड) र बिलेटको मूल्य त्रैमासिक आधारमा ७.७९ प्रतिशतले बढेर सूचकांक १२५.८ पुगेको छ। अघिल्लो त्रैमासमा बहुवर्षीय न्यून बिन्दुमा पुगेको मूल्यमा यसपटक सुधार देखिएको हो। यद्यपि वार्षिक आधारमा भने यसको मूल्य अझै १.८३ प्रतिशतले कम रहेको प्रतिवेदनले जनाएको छ। यसले मूल्यमा आएको वृद्धि पूर्ण उछाल नभई अघिल्लो गिरावटबाट भएको पुनरुत्थानलाई संकेत गर्छ।
विद्युत् तारको मूल्य समीक्षा अवधिमा वार्षिक आधारमा सबैभन्दा धेरै, २४.८९ प्रतिशतले बढेको छ। यसको सूचकांक १७०.२ पुगेको छ। ऊर्जा प्रसारण आयोजनासँग सम्बन्धित विश्वव्यापी माग बढ्नु र आपूर्ति शृंखलामा आएको अवरोधका कारण तामाको अन्तर्राष्ट्रिय मूल्य बढेकाले विद्युत् तार महँगिएको कार्यालयले जनाएको छ।
त्यसैगरी गेबियन तारको मूल्य त्रैमासिक आधारमा ८.९४ प्रतिशतले बढेर सूचकांक १५०.० पुगेको छ। सडक निर्माण तथा पहिरो नियन्त्रणका संरचनामा बढेको मागका कारण यसको मूल्य उकालो लागेको प्रतिवेदनमा उल्लेख छ।
यद्यपि केही निर्माण सामग्रीको मूल्य भने घटेको छ।
काठको मूल्य वार्षिक आधारमा ५.५९ प्रतिशतले घटेर सूचकांक ८६.२ मा झरेको छ। सामुदायिक वनमार्फत काठको आपूर्ति सुधार हुनु र अघिल्लो कर्जा कडाइपछि घरजग्गा कारोबार क्षेत्रमा माग कमजोर रहनुले मूल्य घटाएको प्रतिवेदनमा उल्लेख छ।
ह्युम पाइपको मूल्य वार्षिक आधारमा सबैभन्दा धेरै १०.०१ प्रतिशतले घटेको छ। सूचकांकमा यसको भार कम भए पनि अघिल्लो वर्षको तुलनामा ढल तथा कल्भर्ट निर्माण कार्य सुस्त भएको संकेत यसले गरेको कार्यालयले जनाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सिमेन्ट, इँटा र स्टिलजस्ता उच्च भार भएका निर्माण सामग्रीको मूल्य बढेकाले सार्वजनिक पूर्वाधार आयोजना तथा निजी निर्माण क्षेत्र दुवैको लागत बढ्ने र त्यसले निर्माण क्षेत्रमाथि थप आर्थिक दबाब सिर्जना गर्ने सम्भावना छ।




