मेस्सीका आँसु! विश्वकप यात्रामा थपियो अर्को अविश्वसनीय अध्याय

हिमाल प्रेस २४ असार २०८३ १६:१६ | Wednesday, July 8, 2026
20
SHARES
मेस्सीका आँसु! विश्वकप यात्रामा थपियो अर्को अविश्वसनीय अध्याय अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएपछि कप्तान लियोनल मेस्सीलाई काँधमा उचालेर विजय उत्सव मनाउँदै टोलीका खेलाडीहरू। तस्बिर : एपी/रासस

एटलान्टा स्टेडियमको मध्यभागमा लियोनल मेस्सी आँसुले भिजेका थिए। टोलीका साथीहरूको काँधमा टाउको राखेर उनी भक्कानिँदै रोइरहेका थिए। विश्वकपमा अर्को एउटा अविस्मरणीय जित हासिल गरेपछि उनको महान् करियरमा फेरि एउटा ऐतिहासिक अध्याय थपिएको थियो।

खेलको ७०औँ मिनेटतिर विशाल स्क्रिनमा देखिएका मेस्सी निराश मुद्रामा माथितिर हेरिरहेका थिए। साविक विजेता अर्जेन्टिना इजिप्टसँग २–० ले पछि परेको थियो र खेल सकिन २० मिनेटभन्दा कम समय बाँकी थियो।

त्यस क्षण मेस्सीका आँसु सम्भवतः उनका समकालीन महान् खेलाडी क्रिस्टियानो रोनाल्डोका आँसुजस्तै हुने थिए। पोर्चुगल स्पेनसँग इन्जुरी समयमा पराजित भएपछि रोनाल्डोले भावुक हुँदै विश्वकपबाट बिदा लिएका छन्।

तर अर्जेन्टिनाले त्यो नियति भोगेन। टोलीले १४ मिनेटभित्र तीन गोल गर्दै खेल उल्टाइदियो र विश्वकप इतिहासकै सबैभन्दा अविश्वसनीय पुनरागमनमध्ये एक रच्यो।

३९ वर्षका मेस्सी अहिले धेरैजसो समय हिँड्ने गतिमै खेल्ने गर्छन्। तर समयसँगै उनको जादु भने हराएको छैन।

मेस्सी खेल नियाल्छन्। सही क्षणको प्रतीक्षा गर्छन्। आवश्यक बेला प्रयोग गर्न ऊर्जा जोगाएर राख्छन्। शरीर पहिलेभन्दा सुस्त भए पनि उनको दिमाग अझै असाधारण तीक्ष्ण छ। प्रतिभा उमेरसँगै हराउँदैन भन्ने कुरा उनले फेरि प्रमाणित गरेका छन्।

विश्वकपको अर्को रोमाञ्चक रातमा मेस्सीले अर्जेन्टिनालाई पराजयको मुखबाट तानेर बाहिर निकाले। त्यही बेला जब इजिप्ट यो प्रतियोगिताको अर्को ठूलो उलटफेर रच्ने तयारीमा थियो।

इजिप्टको अग्रता, अर्जेन्टिनाको सानदार पुनरागमन

इजिप्टले पहिलो र दोस्रो हाफमा क्रमशः यासेर इब्राहिम र मोस्तफा जिकोको गोलबाट २–० को अग्रता बनाएको थियो। जिकोको अर्को एक गोल भने भिडियो सहायक रेफ्री ले त्यसअघि भएको फाउलका कारण रद्द गरेको थियो। गोलरक्षक मोस्तफा सोबेर पनि उत्कृष्ट लयमा थिए।

पहिलो हाफमा मेस्सीको पेनाल्टीसमेत सोबेरले बचाएका थिए। विश्वकपमा मेस्सीले प्रहार गरेका आठ पेनाल्टीमध्ये यो चौथो असफल प्रयास थियो। यसअघि अस्ट्रियाविरुद्ध पनि पेनाल्टी चुकाएका उनले विश्वकपको एउटै संस्करणमा (सुटआउटबाहेक) दुई पेनाल्टी गुमाउने पहिलो खेलाडीको कीर्तिमानसमेत बनाए।

खेल सकिन ११ मिनेट बाँकी रहँदा मेस्सीको उत्कृष्ट क्रसमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई आशा दिलाए।

त्यसको चार मिनेट १८ सेकेन्डपछि मेस्सीले बायाँ खुट्टाले प्रहार गरेको बल क्रसबारमा लाग्दै जाली चुम्यो र खेल २–२ को बराबरीमा पुग्यो।

पूरै खेलभर संघर्ष गरेको इजिप्ट अन्ततः इन्जुरी समयमा एन्जो फर्नान्डेजको निर्णायक हेडरपछि स्तब्ध बन्यो।

निरासाको गहिराइबाट उक्लिएको अर्जेन्टिनाले अन्तिम सिटीसँगै उत्सव मनायो। टोलीका खेलाडीहरूले मेस्सीलाई काँधमा उचालेर हावामा फ्याँके। अर्जेन्टिनी समर्थकहरू खेल सकिएपछि पनि लामो समय स्टेडियममै बसेर ढोलको तालमा चर्चित गीतमा झुमिरहे।

यही कारणले अर्जेन्टिनाका खेलाडीहरू मैदानमा कठिन मेहनत गर्न तयार हुन्छन्। उनीहरूलाई थाहा छ, निर्णायक क्षणमा खेल जिताउने काम गर्ने एउटा ‘गुरु’मेस्सी उनीहरूसँग छन्।

अब इंग्ल्यान्डका लागि चुनौती

अर्जेन्टिना पराजित भएको भए के मेस्सीको विश्वकप यात्रा त्यहीँ समाप्त हुने थियो?

अर्को विश्वकपसम्म उनी ४३ वर्षका हुनेछन्, जुन विश्वकप खेल्ने सबैभन्दा पाका आउटफिल्ड खेलाडीको कीर्तिमान बन्न सक्छ। घरेलु भूमिमा हुने खेलहरूको आकर्षणले उनलाई त्यतिन्जेलसम्म खेल्न प्रेरित गर्न सक्थ्यो।

तर अब उनले क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड वा कोलम्बियासँग खेल्ने अवसर पाएका छन्।

बीबीसी रेडियो ५ लाइभका लागि एटलान्टाबाट खेल हेरिरहेका पूर्व इंग्लिस गोलरक्षक पाउल रोबिन्सनले भने, ‘यो अविश्वसनीय थियो। अर्जेन्टिना लगभग प्रतियोगिताबाट बाहिरिइसकेको थियो।’

उनले थपे, ‘रेफ्रीका निर्णयप्रति इजिप्ट अत्यन्त निराश छ। उनीहरूको एउटा गोल रद्द गरियो। तर त्यसपछि लियोनल मेस्सीले खेल आफ्नो नियन्त्रणमा लिए। उत्कृष्ट असिस्ट, सानदार गोल र अर्जेन्टिनाका सब्स्टिच्युसन पनि सफल भए।’

मेस्सी मात्र होइन, अर्जेन्टिनाको सामूहिक शक्ति

अर्जेन्टिनाको पुनरागमन मेस्सीको एकल प्रदर्शन थिएन। यो टोलीको सामूहिक प्रयास पनि थियो। इजिप्टले जितेको भए इंग्ल्यान्डले सन् १९६६ यता पहिलोपटक विश्वकपको फाइनल पुग्ने सुनौलो अवसर देख्न सक्थ्यो। त्यस अवस्थामा इंग्ल्यान्डको सम्भावित यात्रा क्वार्टरफाइनलमा नर्वे र त्यसपछि इजिप्ट, स्विट्जरल्यान्ड वा कोलम्बियामध्ये कुनै एकसँग हुने थियो।

अब मेस्सी र अर्जेन्टिना फेरि इंग्ल्यान्डका सम्भावित अवरोध बनेका छन्।

उमेर बढे पनि मेस्सी अझै कुनै पनि प्रतिद्वन्द्वीमाथि ठूलो छायाझैँ छन्, जसको मूल्य इजिप्टले महँगो रूपमा चुकायो।

यस खेलसँगै मेस्सी विश्वकप इतिहासमा लगातार छ वटा नकआउट खेलमा गोल गर्ने पहिलो खेलाडी बने। यस संस्करणमा उनका आठ गोल भइसकेका छन्। विश्वकपका पहिलो पाँच खेलमै यति धेरै गोल गर्ने पछिल्लो खेलाडी सन् १९७० को मेक्सिको विश्वकपमा १० गोल गरेका पश्चिम जर्मनीका गर्ड मुलर थिए।

मेस्सीले पछिल्ला नौ विश्वकप खेलमा १३ गोल र तीन असिस्ट गर्दै कुल १६ गोलमा प्रत्यक्ष योगदान दिएका छन्।

इंग्ल्यान्डका लागि चिन्ताको विषय यही हो- मेस्सीसँग अझै पनि खेलको परिणाम बदल्ने क्षमता बाँकी छ र उनी त्यही लयमा देखिएका छन्।

अर्जेन्टिना अझै उपाधिको बलियो दाबेदार

लियोनल स्कालोनीको टोली अझै पनि रेशमजत्तिकै कलात्मक र इस्पातजत्तिकै कठोर फुटबल खेल्ने टोलीका रूपमा उभिएको छ। मेस्सी यसको प्रेरणाको केन्द्र हुन्।

स्कालोनीको टोलीलाई थाहा छ- जहाँ मेस्सी छन्, त्यहाँ आशा छ। तर टोलीमा मेस्सीबाहेक पनि प्रशस्त प्रतिभा छ, जसमा हारप्रतिको घृणा गहिरोसँग बसेको छ।

च्याम्पियन टोलीहरू जस्तै अर्जेन्टिनाले जित्ने बाटो खोजिहाल्छ। अन्तिम ३२ को खेलमा केप भर्डेलाई ३–२ ले हराउँदा पनि उसले त्यही गुण देखाएको थियो। अनि टोलीमा मेस्सी हुनु त अतिरिक्त बल हो।

विश्वकप इतिहासमा कुनै टोली नियमित समयमा दुई गोलले पछि परेको अवस्थाबाट यति ढिलो समयमा फर्केर जित निकालेको यो पहिलो पटक हो। तथ्यांक संस्था अप्टाका अनुसार रोमेरोले पहिलो गोल गर्दा अर्जेन्टिनाको जित्ने सम्भावना ०.६ प्रतिशत मात्र थियो।

यस विश्वकपमा धेरै उत्कृष्ट खेल भए पनि विशेषगरी एज्टेका स्टेडियममा इंग्ल्यान्डले मेक्सिकोलाई ३–२ ले हराएको भावनात्मक भिडन्तसँग तुलना गर्दा पनि यो खेल प्रतियोगिताकै उत्कृष्ट खेल हुनसक्ने दाबी गर्न सकिन्छ।

मेस्सीका आँसुले एउटा कुरा फेरि प्रमाणित गरे— ३९ वर्षको उमेरमा पनि फुटबलले जगाउने भावनाबाट उनी अछूता छैनन्। बीबीसीबाट

प्रकाशित: २४ असार २०८३ १६:१६ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast