बीपी प्रतिष्ठानमा आएका बिरामी निजी अस्पतालमा पठाउने चलखेल!

हिमाल प्रेस २३ असार २०८३ २०:२६ | Tuesday, July 7, 2026
12
SHARES
बीपी प्रतिष्ठानमा आएका बिरामी निजी अस्पतालमा पठाउने चलखेल!

इटहरी – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई निजी अस्पतालतर्फ पठाएर अवैध कमिसनको चलखेल गर्ने आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार लामो समयदेखि प्रतिष्ठानमा आउने बिरामीलाई आर्थिक चलखेल र मिलेमतोमार्फत विभिन्न निजी अस्पतालमा पठाइने गरेको जनगुनासोका आधारमा निगरानी बढाइएको थियो।

सोही क्रममा सोमबार राति करिब ९ बजे प्रतिष्ठानको आकस्मिक सेवा (इमर्जेन्सी) भवनअगाडि शंकास्पद गतिविधि गरिरहेको अवस्थामा झापाको दमक–१ का ४३ वर्षीय प्रविण पोखरेल र सुनसरीको हरिनगरा गाउँपालिका–४ का २७ वर्षीय दीपक राम पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका दीपक रामको पर्सबाट विराटनगरस्थित आर्या न्यूरो अस्पतालका दुई वटा भिजिटिङ कार्ड बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै उनीहरूको मोबाइल फोन परीक्षण गर्दा विभिन्न सरकारी अस्पतालका बिरामीको प्रेस्क्रिप्सन, डिस्चार्ज कागजातका तस्बिर, बिरामीको नाम, उमेर र रोगसम्बन्धी विवरण अन्य व्यक्तिलाई पठाइएको सामग्री तथा एम्बुलेन्स चालकहरूको नाम र सम्पर्क नम्बर रहेको कागजातका फोटोहरू समेत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद सामग्रीका आधारमा बिरामीलाई निजी अस्पतालतर्फ रिफर गराउने सम्भावित सञ्जाल, त्यसमा संलग्न व्यक्तिहरू तथा आर्थिक कारोबारबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: २३ असार २०८३ २०:२६ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast