काठमाडौँ- नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’को पछिल्लो अभिव्यक्तिका कारण नेपाल-भारत सीमावर्ती क्षेत्रमा समस्या देखिएको र त्यसको प्रत्यक्ष असर पर्साको ठोरी नाकामा परेको बताएकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले ठोरी नाकामा भारतीय पर्यटकका सवारी साधनको प्रवेशमा रोक लगाइँदा त्यहाँको पर्यटन व्यवसाय धराशायी भएको बताइन्। ‘पर्साको ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको ठोरी नाकामा भन्सारको भवन भए पनि कर्मचारी छैनन्। आफ्नै प्रशासनिक कमजोरीले गर्दा पर्यटकीय सवारी साधन रोकिएका छन्,’ उनले भनिन्।
थपलियाले ठोरी सीमा नाकाको समस्या तत्काल समाधान गर्न र आवश्यक कर्मचारीको व्यवस्था गर्न गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराइन्। उनले शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकालले जनतामा आशा भन्दा बढी निराशा जगाएको टिप्पणी गरिन्।
थपलियाले सरकारले घोषणा गरेका सुशासन र सेवा प्रवाहका प्रतिबद्धताहरू व्यवहारमा लागू हुन नसकेको आरोप लगाइन्। सरकारको १०० दिनमा महँगी नियन्त्रण हुन नसकेको, सुकुम्बासीका समस्या समाधान नभएको र ‘जेनजी’ आन्दोलनसँग भएको १० बुँदे सहमति कार्यान्वयनमा सरकार गम्भीर नदेखिएको बताइन्।




