नेपाली कांग्रेसका सभापति गगनकुमार थापा। फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले संविधान संशोधनको विषयलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै हचुवा र ‘लफङ्गा’ शैलीमा संविधान संशोधन गर्न नसकिने बताएका छन्।
आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान निर्माणका क्रममा समेटिएका संवेदनशील विषयलाई सरकारले पर्याप्त महत्व नदिएको टिप्पणी गरे।
संविधान संशोधन र पुनरावलोकन आवश्यक भए पनि त्यसलाई जिम्मेवार, विवेकपूर्ण र राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।
संविधान संशोधनको उद्देश्य राज्यका संस्थालाई थप सुदृढ बनाउनु हुनुपर्ने उनले बताए। थापाले भाषा, समावेशिता, पहिचान र विविधताजस्ता संवेदनशील विषयमा हल्का ढंगले अभिव्यक्ति दिनु वा निर्णय गर्नु गम्भीर चिन्ताको विषय भएको बताए।
उनले संविधानमा रहेका भाषा, जातीय पहिचान र विविधतासम्बन्धी व्यवस्थामा असावधानीपूर्वक हस्तक्षेप गरिए मुलुकमा अनावश्यक द्वन्द्व सिर्जना हुन सक्ने चेतावनी दिए।
यस्तै, सभापति थापाले सरकारले निजी क्षेत्रप्रति अपनाएको व्यवहारको पनि आलोचना गरे। आर्थिक अपराधमा संलग्न जोकोहीमाथि कानुनी कारबाही हुनुपर्नेमा कांग्रेसको समर्थन रहेको स्पष्ट पार्दै उनले त्यसको नाममा सम्पूर्ण निजी क्षेत्रलाई अपराधी वा ठगसरह व्यवहार गर्नु उचित नभएको बताए।
निर्माण व्यवसायी, बैंकर तथा अन्य उद्यमीलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्तिले लगानीको वातावरण बिग्रिएको उनको भनाइ थियो।
सरकारले सिर्जना गरेको भयका कारण नयाँ व्यवसाय सुरु गर्न उद्यमीहरू निरुत्साहित भएको र न्यून, मध्यम तथा ठूला लगानीकर्ता कसैमा पनि आत्मविश्वास जगाउन नसकेको उनले आरोप लगाए।




