भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

हिमाल प्रेस १९ असार २०८३ २२:२३ | Friday, July 3, 2026
2
SHARE
भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार भेनेजुएलामा भूकम्पपछि क्षतिग्रस्त भवन, फाइल तस्बिर : एएफपी

काठमाडौँ – भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा पुरिएका ४३ वर्षीय हेर्नान गिललाई जीवितै अवस्थामा उद्धार गरिएको छ।

लामो समय भग्नावशेषमुनि बस्दा ती युवाको शरीरमा पानीको मात्रा कम भएको र मनोवैज्ञानिक असर परेको हुनसक्ने भन्दै तत्काल स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

उनलाई सकुशल उद्धार गरेपछि सयौँ उद्धारकर्ता र आफन्तहरूले खुसीयाली मनाएका थिए। भूकम्प गएको एक हप्तापछि सामान्यतया भग्नावशेषमा पुरिएका व्यक्तिलाई सकुशल उद्धार गर्नुभनेको चमत्कारिक घटना मानिन्छ।

भेनेजुयला भूकम्पमा परी बिहीबारसम्म मृत्यु भएको पुष्टि गरिएका व्यक्तिको आधिकारिक संख्या दुई हजार ३०० पुगेको छ भने अझैपनि ठूलो संख्यामा मानिसहरू बेपत्ता रहेको जनाइएको छ।

भेनेजुयलामा सक्रिय उद्धारकर्मीले भग्नावशेषमुनि यति लामो समय बिताएका सुरक्षा गार्ड गिलको उद्धारलाई चमत्कारको रूपमा वर्णन गरे भने आफन्तहरूले उद्धारकर्मीको निरन्तरको प्रयासबाट यो सफलता प्राप्त भएको भन्दै यसको स्वागत गरेका छन्।

जुन २४ को विपत्तिमा लगभग पूरै भत्किएको काटिया ला मारको तटीय क्षेत्रमा रहेको सात तले भवन भत्किएपछि गिल त्यहाँ पुरिएका थिए।

‘यो साँच्चै चमत्कार हो,’ गिलकी श्रीमती गुस्बिमार गोनजालेजले उद्धारकर्ताहरूले उनलाई निकालिरहेको बेला एएफपीसँग भनिन्।

भेनेजुएला, चिली, संयुक्त राज्य अमेरिका, पोर्चुगल, कोस्टारिका, एल साल्भाडोर र मेक्सिकोलगायतका टोलीहरूले तीन दिनसम्म निरन्तर भग्नावशेष पन्छाउँदै गिलसम्म पुगेका बताइएको छ।

उनीहरूले उनको उद्धारका समय पानीको कमी नहोस् भनेर पाइपबाट पानी र पर्याप्त अक्सिजनका लागि पाइपबाट अक्सिजनको व्यवस्था गरेका थिए।

अन्तिम चरणमा दुई उद्धारकर्ताले तीन मिटर लामो सुरुङ खनेपछि भवनको पार्किङ क्षेत्रमा करिब तीस जना मानिसले भग्नावशेष हटाएपछि उनको सकुशल उद्धार गरिएको थियो।

यद्यपि केही चमत्कारी उद्धारहरू भएका छन्। मंगलबार पनि एक तीन वर्षीय बालकलाई भूकम्प गएको ६ दिनपछि फेला पारिएको थियो। तर धेरै वेपत्ताहरूहरूलाई जीवित फेला पार्ने आशा अब घट्दै गएको छ। अब ध्यान भूकम्पबाट बाँचेकाहरूको जीविकाका लागि केन्द्रित भइसकेको छ।

भूकम्पका कारण धेरैजसो घरबारविहीन बनेका छन्, खाना र पानी दुर्लभ हुँदै गएको छ र अस्पतालहरू सीमित क्षमतामा चलिरहेका छन्। विज्ञहरूले रोग फैलिने जोखिमको चेतावनी दिएका छन्।

७.२ र ७.५ रेक्टर स्केलका दुई शक्तिशाली भूकम्पले तेलसम्पन्न भेनेजुएलाको राजधानी काराकासका अधिकांश छिमेकलाई ध्वस्त बनाएको थियो। दशकौँदेखिको आर्थिक संकटबाट पूर्वाधार र स्वास्थ्य सेवालाई ध्वस्त बनेको भेनेजुएलामा नासाको तथ्यांकअनुसार करिब ६० भवनहरू क्षतिग्रस्त वा नष्ट भएका छन्।

धेरैजसो पीडित सडक, पार्क र खाली ठाउँमा टेन्टमा सुतिरहेका छन्।

दशौं हजार मानिसहरू अझै बेपत्ता छन्। सबैभन्दा बढी प्रभावित शहर ला गुएरामा धेरैजसो भत्किएका भवनहरूमा जीवित व्यक्ति नरहेको संकतका लागि ‘डी’ लेखिएको छ।

आफन्त, स्वयंसेवक र उद्धारकर्मीहरू मुख्य रूपमा मृत शरीर निकाल्ने काममा केन्द्रित भइसकेका छन्।

विश्व खाद्य कार्यक्रमले मंगलबार भेनेजुएलामा तीन महिनासम्म पाँच लाख मानिसहरूलाई खुवाउन पाँच करोड डलरको अपिल गरेको छ।

भूकम्पपछि खाने र बस्ने ठेगान नहुँदा विभिन्न क्षेत्रमा लुटपाट मच्चिएको छ। प्रहरी र सेनाका जवानहरू लुटपाट रोक्नका लागि गस्ती गरिरहेका छन्।

सहायताका लागि लाइनहरू दिनप्रतिदिन लम्बिँदै छन्, धेरैजसो स्वयंसेवकहरूको सद्भावना र नागरिकहरूको दानमा बाँचिरहेका छन्।-रासस/एएफपी

प्रकाशित: १९ असार २०८३ २२:२३ | Friday, July 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast