विगतका सरकारबाट हस्तक्षेपको परिणाम एन्फा निलम्बन : खेलकुदमन्त्री

हिमाल प्रेस १८ असार २०८३ १७:१२ | Thursday, July 2, 2026
12
SHARES
विगतका सरकारबाट हस्तक्षेपको परिणाम एन्फा निलम्बन : खेलकुदमन्त्री

काठमाडौँ- सरकारले नेपाल फुटबल संघ (एन्फा) लाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले निलम्बन गरेको विषय वर्तमान सरकारको हस्तक्षेपका कारण नभएको बताएको छ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विगतका विभिन्न सरकारबाट पटकपटक भएको हस्तक्षेपको परिणामस्वरूप अहिलेको अवस्था सिर्जना भएको दाबी गरे।

उनले एन्फासम्बन्धी भ्रष्टाचारका धेरै उजुरी प्राप्त भएकाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्षको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए। समितिले प्रतिवेदन बुझाएपछि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने उनले बताए।

मन्त्री पोखरेलले फिफाको निलम्बनप्रति सरकार पनि दुःखी रहेको उल्लेख गर्दै नेपालको फुटबललाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले फिफा तथा एसियाली फुटबल महासंघ (एएफसी) का पदाधिकारीलाई वार्ताका लागि नेपाल आउन निमन्त्रणा दिइसकिएको र उनीहरू आएपछि विस्तृत छलफल गरिने जानकारी दिए।

एन्फाका पदाधिकारीहरूको विदेश भ्रमणप्रति टिप्पणी गर्दै उनले नेपालको फुटबलले अन्तर्राष्ट्रिय स्तरमा उपलब्धि हासिल गरेपछि मात्रै त्यस्ता भ्रमण उचित हुने धारणा राखे।

उनले अब बन्ने एन्फाको नेतृत्व राजनीतिक भागबन्डाका आधारमा नभई नेपाली फुटबलमा योगदान दिएका पूर्वखेलाडी, खेलप्रेमी तथा फुटबलको ज्ञान र अनुभव भएका व्यक्तिहरूबाट चयन हुनुपर्ने सरकारको चाहना रहेको बताए।

प्रकाशित: १८ असार २०८३ १७:१२ | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast