आठ एआईजीको सरुवा, राष्ट्रिय सदाचार र विज्ञापन नीति स्वीकृत

हिमाल प्रेस १८ असार २०८३ १६:३५ | Thursday, July 2, 2026
22
SHARES
आठ एआईजीको सरुवा, राष्ट्रिय सदाचार र विज्ञापन नीति स्वीकृत मन्त्रिपरिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठक। तस्बिर स्रोत : प्रधानमन्त्री कार्यालय

काठमाडौँ- सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवासहित विभिन्न प्रशासनिक नियुक्ति, नियमावली संशोधन र नीतिगत निर्णयहरू गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै शिक्षा (दसौँ संशोधन) नियमावली, २०८३ पनि पारित गरेको छ।

सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताए।

बैठकले अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेज गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ। साथै समुद्री कानुनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिअन्तर्गत राष्ट्रिय अधिकारक्षेत्रबाहिरका समुद्री जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्ने निर्णय पनि गरेको छ।

मन्त्रिपरिषद्ले राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ पनि स्वीकृत गरेको छ।

प्रकाशित: १८ असार २०८३ १६:३५ | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast