काठमाडौँ- सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले बिहीबार अनुसन्धानका लागि तेस्रोपटक ६ दिनको म्याद थप गर्ने आदेश दिएको हो।
पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो।
विभागले उनको सेयर कारोबार तथा सम्पत्तिको स्रोत शंकास्पद देखिएकाले त्यससम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको थियो।
पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलविरुद्ध यसअघि पनि विशेष अदालतबाट दुईपटक हिरासत म्याद थप भइसकेको थियो।
अनुसन्धान जारी रहेकाले तेस्रोपटक पनि अदालतले हिरासत अवधि थप गरेको हो।




