बालबालिकालाई सदस्य बनाएको आलोचनापछि रास्वपाको स्पष्टीकरण, ‘१८ मुनिकालाई सदस्यता दिएका छैनाैँ’

हिमाल प्रेस १८ असार २०८३ ७:२९ | Thursday, July 2, 2026
10
SHARES
बालबालिकालाई सदस्य बनाएको आलोचनापछि रास्वपाको स्पष्टीकरण, ‘१८ मुनिकालाई सदस्यता दिएका छैनाैँ’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका बालबालिकालाई सदस्य नबनाएको जनाएको छ।

यसबारे मानवअधिकार आयोगसम्मले ध्यानाकर्षण गराएपछि रास्वपा महामन्त्री विपिनकुमार आचार्यले बुधबार प्रेस विज्ञप्ति जारी गरी १८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउने नीति नरहेको उल्लेख गरेका हुन्। प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांकमा सदस्यताका लागि निवेदन दिनेको संख्या उल्लेख गरिएको उनले बताएका छन्।

उनले जारी गरेको विज्ञप्तिमा छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा/२ को खण्ड/क मा १८ वर्ष पूरा भएको भन्ने व्यवस्था साथै रष्ट्रिय स्वतन्त्र पार्टीको विधानको दफा १३ ९क० बमोजिम १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मात्र पार्टी सदस्य हुने व्यवस्था रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा पार्टी सदस्यका रूपमा संलग्न गराउने कार्य न राष्ट्रिय स्वतन्त्र पार्टीको नीति हो, न अभ्यास हो, न त कुनै संस्थागत उद्देश्य नै हो।’

सदस्यताका लागि आवेदन दिन जो कोहीले सक्ने भएकाले १८ वर्षमुनिका बालबालिकाले पनि निवेदन दिएको भने पाइएको रास्वपाले बताएको छ। त्यो प्रारम्भिक आवेदन मात्रै भएको र त्यसलाई सदस्यता स्वीकृति भएको नमानिने रास्वपाले दाबी गरेको छ।

विज्ञप्तिमा छ, ‘हाम्रो डिजिटल सदस्यता प्रणालीमा ‘सदस्यता आवेदन, प्रमाणीकरण र अन्तिम स्वीकृति फरक–फरक प्रशासनिक तथा प्राविधिक चरणहरू हुन्। एप वा वेबसाइटमार्फत् सदस्यताका लागि जो कोहीले आवेदन दिन सक्ने खुला व्यवस्था भए तापनि, त्यस्तो प्रारम्भिक आवेदन स्वतः सदस्यता स्वीकृत भएको मानिँदैन।’

आवेदन दिएकामध्ये सम्बन्धित तहबाट प्रमाणीकरण भएकालाई मात्रै सदस्यता दिइने रास्वपाले विज्ञप्तिमा उल्लेख गरेको छ।

 

प्रकाशित: १८ असार २०८३ ७:२९ | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast