माटो लिएर किन काठमाडौँ आए सुस्ताका बासिन्दा?

हिमाल प्रेस १६ असार २०८३ १६:५६ | Tuesday, June 30, 2026
8
SHARES
माटो लिएर किन काठमाडौँ आए सुस्ताका बासिन्दा?

काठमाडौँ- नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफूहरू नेपाली नागरिक भएको प्रमाणपत्र दिन माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन थालेका छन्। आफूहरूसँग नेपाल नागरिक भएको कुनै प्रमाणपत्र र लालपुर्जा नहुँदा सीमावर्ति क्षेत्रमा भारतीय सुरक्षाकर्मीले निरन्तर दुःख दिएको भन्दै उनीहरूले काठमाडौँ आएर आन्दोलन थालेका हुन्।

उनीहरूले भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल र सीमा सुरक्षा सुदृढ गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता प्रदान गर्नुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्नुपर्नेलगायतका तीनबुँदे माग अघि सारेका छन्।

आन्दोलनका लागि काठमाडौँ आएका सुस्तावासीले जेठ १३ गतेपछि भारतीय सुरक्षाकर्मीले हतियारसहित पटकपटक नेपाली भूमि सुस्तामा प्रवेश गरेर नेपाली भूमि मिच्ने प्रयास गरिरहेको जनाएका छन्। भारतीय पक्षको सामना गर्न सुस्ताको लालपुर्जा, नेपाली नागरिकता र सिमानामा ‘जंगे पिलर’ कायम हुनुपर्ने उनीहरूले माग गरेका छन्। भारतीय सुरक्षाकर्मीले पटकपटक नेपाली नागरिकको प्रमाणपत्र र जग्गा नेपालको भएको लालपुर्जा देखाउन दबाब दिने गरेको उनीहरुको भनाइ छ।

‘सुस्ता बचाऊ अभियान’ को आहनमा सुस्ताको माटोसहित काठमाडौँ आएका नागरिकहरूले आफ्ना माग सुनुवाइ नभएसम्म घर नफर्कने जनाएका छन्। सरकारले आफूहरूको मागप्रति कुनै सुनुवाई नगरे आन्दोलन थप सशक्त र क्रमिक रूपमा बढाउँदै लैजाने चेतावनी उनीहरुले दिएका छन्।

प्रकाशित: १६ असार २०८३ १६:५६ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast